उद्यमशीलता ट्रेनिङ्ग सेन्टरमा तालिम समापन
उद्यमशील ट्रेनिङ्ग सेन्टर,बुटवलद्वारा आयाेजित साताव्यापी प्रभावकारी भाषणकला तालिम साेमवार बुटवलमा सम्पन्न भयाे ।
तालिम समापन कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले मानिससँग ज्ञान भएपनि कलाकाे अभावका कारण अघि बढ्न नसकिने बताए । सिकाईलाई सीपसँग जाेड्दै उमेरसँग दाँज्न नहुने बताए । सिकाई निरन्तरकाे गति भएकाे बताउँदै सहभागीहरुलाई आफ्नाे सिकाई जहाँसुकै प्रयाेग गर्न सकिने सुनाए । उनले आम्दानीमुखी तालिम दिई निर्यातमुखी कर्ममा जाेड दिन अपील गरे । सीपमूलक नागरिक बनाउन आफ्नाे वडा क्रियाशील भएकाे बताए ।
यसै गरी सामाजिक अभियन्ता दलबहादुर गुरुङले उद्यमशीलता ट्रेनिङ्ग सेन्टरले विविध खालकाे तालिम आयाेजना गर्ने तयारी गरेकाेमा बधाई दिदै ज्ञान,सीप र व्यवहारिक तालिम दिन अनुराेध समेत गरे। तालिममा सिकेका कुराहरुलाई सहभागीहरुले दुरुस्त प्रयाेग गर्न अनुराेध समेत गरे ।
कार्यक्रममा दुर्गा टाेल विकास समितिका अध्यक्ष विष्णु चापागाइँ लगायतले आआफ्ना विचार प्रकट गरेका थिए ।
तालिममा एक सातासम्म सहभागीहरुलाई रमेश अर्यालले सहजीकरण गरेका थिए । उनले प्रभावकारी भाषणकलाले नै समाज परिवर्तन सम्भव भएकाे बताउँदै सहभागीहरुले सक्दाे मिहिनेत गरेकाे बताए ।
समापन समाराेहमा सहभागीहरुका तर्फबाट शान्ति भुर्तेल र राजकुमार वाग्लेले तालिम प्रभावकारी भएकाे र आआफ्नाे कार्यक्षेत्रमा कार्यान्वयन गर्ने समेत प्रतिवद्वता जनाएका थिए ।
कार्यक्रमकाे अध्यक्षता ट्रेनिङ सेन्टरका अध्यक्ष राजेन्द्र पाण्डेय,सञ्चालन रेशम भट्टराई र स्वागत पुष्करनाथ पन्थले गरेका थिए ।

