
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएकाे छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दा झण्डै ५५ अर्ब कमको बजेट सार्वजनिक गर्नुभएको हो । बजेटमा वित्तीय क्षेत्रलाई थोरै मात्रै समेट्यो । निजी क्षेत्रको माग संवोधनकै क्रममा बैंकहरु जोडिए पनि छुट्टै बैंकिङ विषयले भने कमैमात्रै प्राथमिकता बजेटमा पायो ।
कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत रहेको छ ।
अर्थमन्त्री खतिवडाले राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ स्रोत व्यवस्थापनका लागि जुटाइने जानकारी दिनुभयो । उहाँले आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने बताउनुभयो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
सरकारले साना किसान विकास लघु वित्त संस्था मार्फत सञ्चालित साना किसान कर्जा कार्यक्रमबाट थप ४० हजार रोजगारी सिर्जना गर्ने, युवा स्वरोजगार कोषको स्वरोजगार कर्जा कार्यक्रमको माध्यमबाट थप १२ हजार युवा स्वरोजगार हुने बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी गरिबका लागि लघु उद्यम लगायतका उद्योग क्षेत्रका कार्यक्रमबाट १ लाख २७ हजार र वन पैदावारमा आधारित उद्यम, कृषि वन, नर्सरी स्थापना तथा वृक्षारोपण, संरक्षित क्षेत्र, जडीबुटी उत्पादन तथा प्रशोधन लगायतका कार्यक्रमबाट थप ३० हजार रोजगारी सिर्जना गर्ने व्यवस्था बजेटमा गरिएको छ ।
सरकारले विनियोजन गरेको बजेटको आकार चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।