Hamro Goreto
ज्ञान प्रदान गरी अज्ञात हटाउने व्यक्ति नै गुरु सन्दर्भ: गुरु पूर्णिमा
Saturday, 04 Jul 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

गु' को अर्थ हो- अन्धकार एवं 'रु' को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्।अध्यापन गर्ने गुरूलाई शिक्षक, टिचर, लेक्चर, प्रोफेसरको रूपमा सम्बोधन गरिन्छ। सोक्रेटस, प्लेटो, अरस्तु सबै योग्य शिक्षक थिए। फाबेलले शिक्षार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन्। रूसो एक प्रकृतिवादी शिक्षाशास्त्री थिए। उनले बालक स्वतन्त्र जन्मिन्छ, उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भने। शिक्षकले पथप्रदर्शकको रूपमा कार्य गर्नुपर्छ। विकसित र धनी राष्ट्र कहलिएका अमेरिका र आस्ट्रेलियाले मन माफिक धन खर्च गरेर पनि मन माफिक शैक्षिक सुधार गर्न सकेनन्। यो कुरा प्रसिद्ध बेलायती साप्ताहिक 'दी इकोनोमिस्टमा' अक्टोबर १८, २००७मा शिक्षासम्बन्धी एउटा विचारोत्तेजक लेखमा प्रकाशित भएको थियो। यसैको आधारमा एउटा अर्को अध्ययन आर्थिक सहयोग र विकास सङ्गठनले विकास गरेको मापन प्रणालीअनुसार क्यानाडा , फिनल्याण्ड, जापान, कोरिया र सिङ्गापुरले श्रेष्ठता हासिल गरेको पाइयो। उक्त परामर्शदाता संस्थाले तीन महत्त्वपूर्ण बुँदा केलाएर प्रस्तुत गर्‍यो। पहिलो- योग्यतम शिक्षकहरूको व्यवस्था गर्नु, दोस्रो- योग्यतममध्ये पनि योग्यतम शिक्षकहरूको छनोट गरी बहाली गर्नु, तेस्रो- विद्यार्थीहरू जहाँनेर पछि पर्छन् तत्काल उनीहरूलाई शैक्षिक सहयोग उपलब्ध गराउनु। यी तीन बुँदालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने हो भने शिक्षामा कम लगानीमा पनि ठूलो सुधार निश्चित रूपमा पाइनेछ। बेलायत, अमेरिका र अस्टे्रलियाले शिक्षामा ठूलो लगानी गरे पनि इच्छाअनुसार सुधार हासिल गर्न सकेका छैनन् तर दक्षिण कोरिया, सिङ्गापुर र हङकङ आदि देशमा उत्कृष्ट स्नातक र स्नातकोत्तरलाई मात्र शिक्षकमा बहाली गरिएकाले गुणस्तरीय शिक्षा उपलब्ध छ।भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन।

यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन्ले भनेका छन्, 'देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ।' त्यस्तै पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामका शब्दमा, 'शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन्।' अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ। सय वर्षपूर्व अमेरिकामा शिक्षक सङ्घ र समुदायले शिक्षकहरूले पालन गर्नुपर्ने आचारसंहिता पारित गरेका थिए। जसको उद्देश्य शिक्षकहरूमा व्यक्तिगत, सामाजिक र पेसागत गुण तपसील बमोजिम हुनुपर्ने भनी उल्लेख गरिएको थियो। व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान आदि। सामाजिक गुण पक्षपातरहित, स्पष्ट वक्ता, मानवीय सम्बन्ध कायम गर्ने, सेवाभाव- क्रियाशील, विनोदपि्रय, नेतत्त्व गर्ने क्षमता र समुदायको ज्ञान आदि। सबभन्दा प्रमुख पेसागत गुण हो। विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बालमनोविज्ञानको ज्ञान, शिक्षण पद्धति, विधि र प्रविधिको ज्ञान, उत्तरदायित्व बोध, जिज्ञासु र अध्ययनशील, खोज आदि। सारांशमा हाम्रा स्थापित मूल्य मान्यता र आदर्शलाई शतप्रतिशत रूपमा पश्चिमले स्वीकार गरिसकेका हुन्।

हाम्रो शास्त्रमा दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ- एउटा देव गुरू बृहष्पति अर्को असुर गुरू शुक्राचार्य। शिक्षक देशका निर्माता हुन् भने शिक्षक विनाशकर्ता पनि बन्न सक्छन्। तसर्थ आज गुरूपूणिमाका दिन हामीले कस्तो गुरूको पूजा गर्नुपर्ने र कस्तो गुरूलाई चोर भनेर तिरस्कार गर्ने हो सोच्नुपर्छ। गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो- बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुजस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरजस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु। कुशल भान्छेको अभावमा सामानको प्रचरताले सुस्वादु परिकार सम्भव नभएजस्तै असल, योग्य शिक्षकको अभावमा असल शिक्षा सम्भव छैन।

हिन्दु र बौद्ध धर्म मान्नेहरुले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउँछन्। त्यसो त विदेशतिर नि टिचर्स डे भनेर नमनाइने हैन। तर आजको दिन हाम्रो आफ्नै मौलिक परम्परा हो।

लौ त, आफ्ना गुरुहरुलाई सम्मान गर्ने हैन त आज? विदेशतिर हुनुहुन्छ भने आज त हाम्रो संस्कृति अनुसारको टिचर्स डे भन्दै शुभकामना दिने हैन त ?

गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन्। हिन्दु धर्मावलम्बीहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँछन्।

आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ, गुरु अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लैजानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरूबाट आशीर्वाद थाप्ने चलन छ।

द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।

चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यहरूलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका दिनका रूपमा मनाउने परम्परा बसेको हो।

आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ।

संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ।

हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षा मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्दछन्।

विद्यार्जनका लागि पहिले २५ वर्षको उमेरसम्म ब्रह्मचर्या पालन गरेर गुरुकूलमा गइ पढ्ने चलन थियो।

त्रेतायुगमा मर्यादापुरुषोत्तम रामसहित उनका भाइ र द्वापरयुगमा भगवान् श्री कृष्णले पनि गुरुकूलमै अध्ययन गरेको शास्त्रमा उल्लेख छ।

आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति आदर सत्कार गरी गुरु पुर्णिमा मनाइन्छ । सत्मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज देशभरि गुरु पूर्णिमा पर्व मनाइँदैछ । संस्कृत शब्द गुरु गु र रु मिलेर बनेको छ । संस्कृत भाषामा गुको अर्थ हुन्छ अन्धकार र रु को अर्थ प्रकाश ।

गुरु शब्दको विग्रह गर्दा गिंरति अज्ञानं इतिः अर्थात ज्ञान प्रदान गरी अज्ञात हटाउने व्यक्ति नै गुरु हो । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ, यस्ता गुरुलाई ब्रह्मा, विष्णु र महेश मानेर पूजा गर्ने प्रचलन रहेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानिएकोले आचार्य देवो भवः भन्ने गरिएको छ । हरेक मानिसको पहिलो पाठशाला घर नै हो पहिलो गुरु भनेका आमा र बुबा नै हुन ।

तर, घरको शिक्षामात्र मानिसका लागि पर्याप्त हुदैन् । हरेक मानिसलाई सत्मार्ग देखाउदै शिक्षा र चेतनाले मानव मनमा नैतिकताको विकास गराउने सदुहरुप्रति आदर सत्कार स्वरुप गुरु पूर्णिमा मनाइन्छ ।आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ ।

गुरु पुर्णिमाका दिन बिद्यालय, क्याम्पस र विश्व विद्यालयहरुमा आफ्ना गुरुलाई फुलमाला र अविर लगाई सम्मान आदर गर्नु का साथै आशिर्वाद लिने परम्परा छ । तर, पछिल्लो समय गुरुलाई सम्मान गर्ने नाममा भड्कीलो र मंहगो उपहार दिने गरिएको छ । धर्मशास्त्रीहरुले नयाँ प्रचलन प्रति भने दुख व्यक्त गरेका छन ।गुरु पुर्णिमाकै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ ।

ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण र उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ ।