
असाेज १९, साेमबार।
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलेवन पञ्जाबलाई १० विकेटले पराजित गरी शानदार जित हासिल गरेको छ । चेन्नईको सिजनको यो दोस्रो जीत हो ।
दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । पन्जाबका लागि केएल राहुलले सर्वाधिक ६३ रन बनाए । यस्तै, मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।
बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।
पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी प्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए ।
याे सँगै पन्जाबको याे सिजनकाे चौथो हार हो।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले फेरी अर्को कीर्तिमान बनाएका छन् । उनी आईपीएलमा १ सयवटा क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनीभन्दा अघि कोलकाताका कप्तान दिनेश कार्तिक मात्र रहेका छन् । उनले १ सय ३ क्याच लिएका छन् ।