Hamro Goreto
बढ्दो संक्रमण प्रति नीजि क्षेत्रको चासो ः सरकारको तयारी खोई ?
Wednesday, 14 Apr 2021 00:00 am
Hamro Goreto

Hamro Goreto

बुटवल, १ बैशाख । पछिल्लो समयमा कोरोना भाईरस (कोभिड १९)को संक्रमण बढीरहँदा सरकारको तर्फबाट हुनुपर्ने तयारी नभएको भन्दै नीजि क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । छिमेकी देशहरुमा दोस्रो लहरको संक्रमण फैलिएसंगै त्यसको प्रभाव बिस्तारै नेपालमा समेत पर्न थालेपछि सम्भावित जोखिम प्रति चासो बढेको हो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले नयाँ वर्ष २०७८ को पूर्व शन्ध्यामा मंगलबार साँझ बुटवलमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा स्वागत कार्यक्रममा वक्ताहरुले सम्भावित जोखिमको बारेमा कुरा राख्दै अझै पनि सरकारको तर्फबाट प्रभावकारी कामहरु हुन नसकेको औंल्याएका हुन् । संघले रुपन्देही जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु र नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्षलाई स्वागत गरेको हो ।

त्यस अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ले सबैले सुरक्षाको अनुभूति गर्नेगरी सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा छिमेकी मुलुकमा कोरोना भाईरस संक्रमण बढेसंगै सिमानाका सुनौलीमा होल्डीङ् सेन्टर बनाउन लागेको जानकारी गराउनु भयो । बाहिरबाट आउनेलाई निगरानी गर्ने र संक्रमण पुष्टि भए सिटी भ्यालुको आधारमा घरमा या अस्पतालमा कहा पठाउनु पर्ने हो, सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाउने व्यबस्था मिलाउने उहाँले बताउनु भयो । रुपन्देही जिल्लामा अहिले सञ्चालमा रहेका ७२ वटा एम्बुलेन्स मध्ये एउटा पनि कोभिड मैत्री नभएकाले सामाजिक उत्तरदायित्वमा कोभिड मैत्री एम्बुलेन्स सञ्चालन व्यबस्थापनको लागि नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले बजारको नियमनलाई पनि प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यसमा सहकार्य गर्न उद्योग बाणिज्य संघलाई आग्रह गर्नुभयो ।

राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसिले राजश्व चुहावट नियन्त्रणको लागि नीजि क्षेत्रसंग सहकार्य गर्न आफू तयार रहेको जानकारी गराउँदै नियमसंगत रुपमा व्यापार व्यबसाय गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले कोरोना भाईरस महामारीले मुलुकलाई धेरै पछाडी धकेलेको बताउँदै यसलाई माथी उठाउन र उद्योग व्यबसाय जोगाई राख्नको लागि सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने सुझाव राख्नुभयो । सरकारले नीजि क्षेत्रलाई लक्षित गरेर पुनःकर्जा कार्यक्रम ल्याएपनि उक्त कार्यक्रम हात्तिका देखाउने दाँत मात्रै भएको समेत बताउनु भयो । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन र समृद्ध मुलुक निर्माणको लागि पनि सरकारले दीर्घकालिन सोंच राख्नुपर्ने भनाई राख्नुभयो ।

त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौलले कोरोना महामारीले नीजि क्षेत्र धाराशायी भएको अवस्थामा पुन दोस्रो लहर सुरु भएसंगै नीजि क्षेत्रलाई निराशा बनाएको बताउँदै मुलुकको सुदृढ अर्थतन्त्रको लागि पनि नीजि क्षेत्रलाई सान्त्वना हुनेगरी अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले गत वर्ष कोरोना महामारी आएपछि स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना तत्काल आएपछि अहिले सम्म सरकारको तर्फबाट कुनै प्रकारको थप तयारी नगरेको बताउँदै बिरामीको प्रभावकारी विश्वसनीय उपचारको वातावरण तत्काल बनाउन सुझाव राख्नुभयो ।

संघका अध्यक्ष उज्जवलप्रसाद कसजुले कोरोना महामारी भईहालेमा स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने सबैको दायित्व भएको बताउँदै तर अर्थतन्त्रलाई नै प्रभावित गर्ने र नीजि क्षेत्रलाई धाराशाही गराउनेगरी लकडाउनको नीति लिन नहुने भनाई राख्नुभयो ।

त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले संघले सामाजिक तथा आर्थिक बिकासमा संघले अहिलेसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो । संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कपडा बस्तुगत समितिका पूर्व अध्यक्ष पुरन श्रेष्ठ लगायतले बढ्दो कोरोना भाईरस संक्रमले उद्योगी व्यबसायीलाई मनोवैज्ञानिक रुपमा दवाव पारेको र त्यसलाई निस्तेज गर्नेगरी सरकारले भरपर्दो स्वास्थ्य सेवा सहित नीजि क्षेत्रलाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नुभएको थियो ।

त्यसै अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्रे पात्रो र कपडा बस्तुगत समितिले प्रकाशन गरेको भित्ते पात्रो समेत सार्वजनिक गरिएको थियो । बुटवल उद्योग बाणिज्य संघले प्रकाशन गरेको क्यालेण्डर प्रकाशनको संयोजन कार्यसमिति सदस्य प्रकाश श्रेष्ठले गर्नुभएको थियो ।