Hamro Goreto
इस्लाम धर्मावलम्बीहरूले आज "इद-उल-फित्र" मनाउँदै
Wednesday, 10 Apr 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

इस्लाम धर्मावलम्बीहरूले आज "इद-उल-फित्र" मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा भए पश्चात आज ‘इद-उल-फित्र’ मनाउन लागेका हुन्। 

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

केही मुस्लिमले ‘इद-उल-फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यो पर्वको ७० औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन्।

इद-उल-फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी  दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।

सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।