
पूर्वीपाल्पाको निस्दी गाउँपालिकाले विविध कार्यक्रमसहित छैटौं महिला अधिकार दिवस बुधवार मित्यालमा मनाएको छ ।
दिवसका प्रमुख अतिथि जिल्ला समन्वय समिति,पाल्पाकी उपप्रमुख काशिका गैरेले महिलाका आफ्ना हक,अधिकार सम्वोधन र स्थापित भएको दिनको अवसरमा उक्त दिवस मनाउन थालिएको बताउँदै महिला अधिकारलाइ स्थापित र संस्थागत गर्दै लैजानुपर्ने बताईन् ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेकी निस्दी गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले आफ्नो पालिकाले महिलाहरुलाई सशक्तिकरण गर्दै अधिकार स्थापित गर्ने यात्रामा गतिशील रहेको सुनाईन् ।
सो दिवसका अवसरमा महिला हक,अधिकार,दायित्व र कर्तव्यका विषयमा अधिवक्ता मीना जीसीले सहजीकरण गरेकी थिईन् । साथै उनले अधिकारको प्रयोग र कर्तव्यप्रति जवाफदेही भएमा महिलाहरु सफल हुने उल्लेख गरेकी थिईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल,१देखि ७ नम्बरसम्मका वडाध्यक्ष लगायत महिला अधिकारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा स्नातकोत्तर गर्ने निस्दीका तीनजना महिला,७ वटा वडाका सफल महिला उद्यमी, २० वर्ष पुगेका र १२ उत्तीर्ण विवाहित महिलाहरुलाई पालिकाले सम्मान गरेको कार्यपालिका सदस्य हेमकुमारी सुनारीले जानकारी दिईन् ।
कार्यक्रममा महिला अधिकारसम्बन्धी सांस्कृतिक कार्यक्रम र बालविवाह विरुद्वको प्रहसन देखाईएको थियो ।
दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा पालिकाका प्रवक्ता मेखबहादुर सुनारीले स्वागत,महिला विकास शाखा प्रमुख बन्दना गुप्ताको सञ्चालन र महिला समन्वय समिति,निस्दीकी अध्यक्ष तिर्सना खन्गाहाको अध्यक्षतामा दिवस सम्पन्न भएको थियो ।