
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। सत्ययुगमा आजैको दिन नीराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यस्तै “अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, महिला र पुरुषहरुले असल वर तथा बधु प्राप्तिका लागि पनि तिजको व्रत बस्ने शास्त्रीय विधान छ,”। तर यसको अर्थ सबै नारी नीराहार व्रत बस्नुपर्छ भन्ने नरहेको मान्यता रहेकाे छ।
नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तिज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ।