Hamro Goreto
लागू पदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
Wednesday, 04 Jun 2025 00:00 am
Hamro Goreto

Hamro Goreto

 

"लागू औषघी मुक्त समाज हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नाराको साथ रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर १ को कार्यालयमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडा नम्बर १ को वडा कार्यालयको आयोजनामा सम्पूर्ण टोल विकास समितिको पदाधिकारी, आमासमूह,युवाक्लब तथा वडाभित्रका बुद्धिजीवी,राजनीतिक दल समूहहरूको सहभागी रहेको थियो।

यो कार्यक्रममा वडा अध्यक्ष हरि नारायण थारुले युवा युवतीहरू गाजा,चरेस, हिरोइन,अफिम जस्ता लागू पदार्थको कुलतमा नपरुन् भन्ने उद्देश्यले यस अघि किशोर अवस्थामा पुगिसकेका युवा युवतीलाई सचेत बनाउन प्रगति.मा.वि, जन ज्योति.मा.वि र दुर्गा.मा.वि मा सचेतमूलक कार्यक्रम भइसकेको बताउनुभयो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक अनिष  खड्काले लागू पदार्थको दुर्व्यासनीको बारेमा नकारात्मक प्रभाव र ओसर पासर रोकथाममा प्रहरीको दायित्व र कर्तव्यको बारेमा खुलस्त पार्नुभएको थियो। त्यसैगरी लागु पदार्थ दुर्व्यसनी सचेतना कार्यक्रममा कानुनी प्रावधानको बारेमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो। सो कार्यक्रममा उठेका प्रश्नहरु समेतको ईस्पष्टीकरण दिनु भएको थियो।

उक्त कार्यक्रममा लागू पदार्थ दुर्व्यासनीमा सुधार संस्था अल्फा फाउन्डेसनका कोषाध्यक्ष कमल कार्कीले लागू पदार्थमा फसेका युवा युवतीलाई नियन्त्रण गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुर्व्यासनीमा फसेका व्यक्तिहरूलाई व्यस्त राख्नेको लागि जग्गा भाडामा लिएर  सीपमूलक काम सिकाउँदै आएको बताउनुभयो। त्यसो त आर्थिक रुपमा कमजोर अवस्था भएका परिवारहरूको आग्रहमा निःशुल्क सेवा पनि गरेको बताउनुभयो। अल्फा फाउन्डेसन वडा नम्बर १ दानापुरताल नजिक रहेको छ।

सो कार्यक्रम सञ्चालन वडा सचिव मधुकला घर्तीले गर्नुभएको थियो।