
बाग्मतीबाट पाठ सिक्न सकिँदैन ? यी साझा सवालमा सचेत गराउने कुरा यो पुस्तकको अर्को बलियो पक्ष हो । यही विषयमा घनिभूतरूपले छलफल भइरहेका छन् ।
गाउँमा बाटाहरू पुग्न थालेपछि आस्थाका रूपमा रहेका वरपीपल चौपारीहरू नै नासिन थालेको कुरालाई बढो कलात्मक रूपमा पुरुषोत्तम दाहालले ‘अकाल मृत्युबाट बाँचेको वरपीपल’ निबन्धमा उल्लेख गरेका छन् । उनी लेख्छन्– कालो फोक्सो भएको व्यक्तिको मन पनि त कालो हुन्छ । उनको निबन्धमा वरपीपलको महत्त्व, यसको ऐतिहासिकता र किंवदन्तिलाई मज्जाले केलाइएको छ । वरपीपललाई पुज्नेदेखि यसको हाँगाविँगाहरूले उन्नत खेतीमा पार्ने असरका बारेमा समेत उल्लेख गरिएको छ । द्वन्द्वात्मक शैलीमा लेखिएको उक्त निबन्धले नयाँ पुस्ता र पुरानो पुस्ताबीचमा दरार कसरी सिर्जना हुँदोरहेछ भनी सन्देश प्रवाह गरेको छ । बाटो फराकिलो पार्ने नाउँमा वरपीपल र चौतारा मासिए । चौतारा नासिएपछि सातु र सर्वत खुवाउने चलन नासियो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गाउँका हजुरआमाहरू त्यी चौताराहरूमा बसेर बटुवाहरूलाई सातु, सर्वत खुवाउँथे । भोको पेटमा सातु र सर्वत अमृततुल्य हुन्थ्यो– अतीय सम्झिँदै तारानिधि भट्टराईले ‘बालसखा गुमाउँदाको पीडामा’ मनै छुने तर विद्रुप पीडा लेखेका छन् ।

चराको चिन्ता गर्दै अनिता न्यौपाने आफ्नो निबन्ध ‘त्यसपछि चराहरू हराउने छन्’मा लेख्छिन्– हलबाट फिलिम हराएजस्तै, हातबाट घडी हराएजस्तै, दलिन वा काँधमा झुण्डिएका रेडियो हराएजस्तै, गाउँबाट युवा हराएजस्तै र बाटोबाट चौतारो हराएजस्तै एक दिन यो सुन्दर संसारबाट चराहरू हराउने छन् । संसारलाई सुन्दर बनाइराख्ने चरा नै हो भन्ने उनको ठहर छ । पर्यावरण स्वच्छ रहेमा नै जैविक विविधता कायम रहने छ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको संरक्षण हुन नसकेमा के हालत होला ? चराले चिनाएको नेपालको परिचय कहाँ रहला र ? आठ सय ९० प्रजातिका चरा पाइने नेपाल, यही चरा देखाएर पनि पालिन सक्छ । चरा पर्यटन सम्भव देख्छिन् उनी ।कहिलेकाँही मनमा अनेक तर्कविर्तक खेल्छन् । चिन्ता, पीर हुन्छन् । यही वातावरणमा पाइने चराका संगीत सुनेर होस् वा नदीका कलकल आवाज सुनेर होस् वा पहाडमा सुसेलिने हावाले मनमा आनन्द आउन सक्छ । मनको थेरापी नै यही हुन सक्छ । प्रकृति रहे त हो नि संस्कृति जोगिने । संस्कार र सभ्यता अडिने । जवानीमा मोज गर्न नपाउँदा कुकुर पनि डिप्रेसनमा पर्न सक्ने कुरा ‘रोगी नबनाई राख्नुपर्छ’ शीर्षकको निबन्धमा अनिता पन्थी लेख्छिन् । शायद यो पृथ्वीमा रहने हरेक प्राणी, वनस्पतिका आफ्नै जीवनकला छन् । जीवनलीला छन् । मान्छेले आफूलाई सर्वोकृष्ट प्राणी आफैले ठान्यो तर प्रकृति र पर्यावरणको दोहोन गर्न छाडेको छैन । बुझेर पनि बुझ् पचाउने प्राणी नै मान्छे बन्दैछ । मान्छेले पर्याचक्रीय सन्तुलनमा हिमालको स्थान र योगदानलाई बुझेर अन्तर्राष्ट्रिय हिमाल वर्ष–२०२५ आरम्भ गरेको छ । बल्ल मानिसले म रहनुपर्छ भन्ने होस् चेत खोल्दैछ । आँखाले देखिने असरले नै मानिसलाई बुझ्न र बुझाउन बाध्य पार्दोरहेछ । यो कुरा ‘साझा घरको माया’मा दीपकप्रसाद ढकालले उल्लेख गरेका छन् ।
प्रथम भएको निबन्ध ‘प्रलयको आँधीबेहरी’मा भवानी खतिवडा लेख्छिन्– नबिर्सौं, आफैँभित्र कसिङ्गर पर्दा मात्र होइन, खुट्टामा चोट लागे पनि आँशु झार्ने आँखा नै हो । दुःखी हुँदा रुने पनि आँखै हो । खुशी हुँदा मुस्कुराउने पनि आँखै हो । हातको जीतमा रमाउने वा छालाको हारमा सुक्सुकाउने पनि आँखै हो । मान्छे यो धरतीको आँखा हो । उसैले नै यो धरतीलाई बचाउनुपर्छ । अप्ठ्यारो परिस्थितिबाट जोगाउनु पर्छ । यो निबन्ध पढेपछि हामी मान्छेलाई पर्यावरण जोगाउने ठूलो जिम्मेवारीबोध हुन्छ । मान्छेमा भएको प्रकृतिप्रेमी भावनालाई उजागर गर्दै पर्यावरणलाई जोगाउने अभियानमा अग्रगामी रूपमा मान्छे नै लाग्नुपर्छ भन्ने सन्देश प्राप्त हुन्छ ।
पर्या–चेतनका निम्ति अब बोध गर्नैपर्ने कुरा हो– मान्छेले परोक्ष साक्षात्कार गर्ने, देख्ने र भोग्ने ईश्वर वा ईश्वरीय रूपक नै प्रकृति हो । त्यो जल, जंगल एवम् जमीन हो । बौद्ध पर्या–चेतले आत्मशोषण अर्थात् आफ्नै आत्माको शोषणलाई समर्थन गर्दैन, यसको अर्थ श्रोतको संरक्षण भन्दै पानी नपिउने हठी हुनुपनि प्रकृति कै शत्रु बरोबर हो । त्यसैले प्रकृतिको संरक्षणमा सबैलाई समाहित हुन अपील गरेका छन्– हरिबोल काफ्लेले आफ्नो द्वितीय भएको निबन्ध ‘प्रकृतिप्रति प्रेम, करुणा र उत्साह किन ?’ मार्फत् । त्यसैगरी तृतीय भएको निबन्ध ‘विकास : प्राप्तिको श्रृंखला या पश्चातापको पुनर्बोध’ को सहारामा निबन्धकार गोविन्द गोपाल खतिवडा भन्छन्– धागोबाट छुट्टिएको चङ्गाको स्वतन्त्रता र प्रकृतिबाट पृथक् भएको मानवीय स्वतन्त्रतामा ज्यादा भिन्नता म देख्दिनँ । अझ् भनुँ, छैन पनि ।
सुघ्ने शक्तिमा मानिसभन्दा अफ्रिकी हात्ती, कुकुर, भालु र सार्क माछा ज्यादै शक्तिशाली हुन्छन् । मान्छेले भन्दा आठ गुना टाढा हेर्न सक्छ चीलले । सुन्नमा चमेराको मानिसभन्दा दश गुना बढी क्षमता छ । यो कुरा ‘प्रकृति र मानिस’ शीर्षकको निबन्धमा रुपसिंह भण्डारीले बयान गरेका छन् । रुपा थापा ‘माफीना’मार्फत् भन्छिन्– मान्छे एक अर्कासँग इतिहासभरि लडिरह्यो । लडाइँमा क्षेप्यास्त्र प्रहार भए र यो धरतीको वातावरणलाई अझै खल्बलाइरहे । शायद विनासकारी युद्धले नै प्रकृति र संस्कृतिलाई नामेट बनाउँदैछ । कुनै दिन धरतीमा धान, मकै र गहुँजस्ता अनाज उब्जन छाडे भने, फलफूल र तरकारी फल्न छाडे भने मान्छेले के खाएर बाँच्ला ! यतिसम्म चिन्ता गरेका कुमार काफ्लेले ।
जथाभावी जंगल मास्नु, ज्यामितीय अध्ययनबिना भीर भत्काउनु र खोला लयमा बग्न नदिनु ध्वंश हो । मान्छे प्रकृतिसँग जिस्किँदा पृथ्वीको सुरबेसुर भएको छ । विश्व कार्बन उत्सर्जनमा नेपालको हिस्सा ०.०२७ प्रतिशत छ । तर, असर भोग्नेमा नेपाल विश्वको १० औं स्थानमा रहेको कुरा सुनाउँदै थिए लक्ष्मण वियोगीले । यति भयाभव स्थिति कसरी आयो त ? गम्भीर भएर कसैले सोचेका छन् र ? धरतीको प्राकृतिक नियम बिग्रियो भने भविष्यमा मानव अस्तित्व नै संकटमा पर्ने देखेपछि हामीहरू जुरमुराएका हौं । हामी धरतीलाई हैन, जनावर, बोटबिरुवालाई हैन, आफूलाई बचाउन यो सबै नाटक गरिरहेका छौं । यही नाटकले गर्दा धरतीमा संकटको रातो बत्ती बल्न थालेको छ । यी कुरा राजु अधिकारीले ‘रातो बत्ती’ निबन्धमा विस्तृत बयान गरेका छन् । अत्यन्तै रोचक ढंगले आफ्नो प्रस्तुति दिएका छन् ।
जलवायु परिवर्तनको असरले नेपालका हिमाली क्षेत्रहरूका पर्यटन व्यवसायीहरू तथा पर्यटकहरूको संख्यामा व्यापक गिरावट आउने छ । भयंकर चुनौती थपिने छ । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो संकट निम्त्याउँदैछ । यो कुराको भविष्यवाणी कुनै ज्योतिषीले हैन राजेन्द्रमान डङ्गोलले गरेका छन् आफ्नो निबन्धमा । पर्यावरणीय नारीवादी आन्दोलन मार्फत् वृक्षरोपण गरेरै वातावरण जोगाउन सकिने दलील प्रस्तुत गरेकी छिन् प्रभा बरालले । पुँजीवादी विकार नै जलवायु परिवर्तनको मुद्दा रहेको उनको तर्क छ । ‘चिन्ताको चितामा जिउँदो चेतना लिएर जल्दा त भत्भती पोल्दो रहेछ’ अनिता कोइरालाले भन्दै थिइन् । ‘बाह्र वर्षपछि पनि खोला फर्किएन भने ?’ के गर्ने भनेर ऋतेश गुरुङले देश, दुनियाँलाई गजबले प्रश्न सोधिरहेकै छन् । जल प्रदूषणबाट जोगिने कसरी ?, सोध्दैछिन् निबन्धकार कुञ्जदेवी उपाध्याय ।मलाई त खोलामा लगाइएका तटबन्धहरू खोलाका निम्ति हत्कडी हुन् – भेषराज बुढाथोकीको उक्त तर्कमा सहमति जनाउन मन लाग्यो । ‘मेरो अँधेरी खोला’ निबन्धमा दुर्गादेवी थापाले विगतलाई सम्झिएर विरहको गीत गाएकी छिन् । सन्तानलाई देखाउन पुग्दा त अँधेरी खोला भेटिनन् हिजोजस्तो । जतिसुकै ज्ञान, शिपर्शन र सिद्धान्तका बाह्रहाते गफ फलाके पनि जीवन भनेकै पानीले धानेको रैछ त नि ! बोमबहादुर थापाको यो चोपिलो वाक्यले पानीको महिमालाई प्रष्ट पारेको छ । पानी नै जिन्दगानी रहेछ ।आमन्त्रित निबन्धकारका ?पमा आफूहरूलाई सहभागी गराएका छन्– डाक्टर गोविन्दराज भट्टराई, मनप्रसाद सुब्बा, प्रा.डा.विष्णु एस राई, ज्ञानबहादुर छेत्री, महेश पौड्याल र विजय हितानले । उनीहरूका निबन्धले सुनमा सुगन्ध छर्किएका छन् । पुस्तकलाई थप वजनदार र पठनीय बनाएको छ । शायद उनीहरूका निबन्ध, उदाहरणीय र शिकारुलाई मानक निबन्धका रूपमा प्रस्तुत भएका छन् ।

पुस्तक पढेर, अनुभूति लेखिरहँदा पहिलो पर्या-निबन्ध सङ्ग्रहको निरन्तरता, पृष्ठपोषण, प्रतिक्रिया, सुझाव कस्तो आउला, जान्न मन लागिरहेको छ । पर्यासाहित्यिक विधामा अन्य के आउला भनेर जिज्ञासा जागिरहेको छ मनमा । हुन त यसका बारेमा विजय दाइले आफ्नो सम्पादकीयमा धेरै कुरा उल्लेख गरेकै छन् । सिंगो चिरफार त दाइकै सम्पादकीयमा नै छ । यो पुस्तक पढिसकेपछि मेरो मनमा अनेक सवालहरू उठे । ती सवालका जवाफ त कहाँ पाउँला र ? तैपनि यही पुस्तकमा एकोहोरो खोजिरहेको छु । पर्यावरणका बारेमा उठेका सवालका श्रोतहरू यही पुस्तक नै हो भन्ने मेरो ठहर छ ।