
पाल्पाको तिनाउ गाउँपालिका–२, गणेशटोलस्थित गणेश सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा शुक्रबार दोभानमा सम्पन्न भएको छ । सभामा समूहका अध्यक्ष लालकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन र चालू आर्थिक वर्षको कार्ययोजना पेश गर्नुभएको थियो । त्यस्तै समूहका कोषाध्यक्ष विष्णु थापाले गत आ.व. २०८१/०८२ को हरहिसाब र चालू आर्थिक वर्षको आर्थिक योजना पेश गर्नुभयो ।साधारणसभाका प्रमुख अतिथि तिनाउ गाउँपालिका प्रवक्ता यादव प्रसाद अर्यालले गणेश सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुले आर्थिक, सामाजिक फाइदा लिएको बताउनुभयो । उहाँले वनको विकासका लागि वनकै उपभोक्ता सचेत र सक्रिय हुनुपर्नेमा बताउनुभयो ।

सभाका विशिष्ट अतिथि सामुदायिक वन समन्वय समिति, तिनाउका अध्यक्ष दलबहादुर गुरुङले गणेश सामुदायिक वनको संरक्षण,प्रवर्द्धन र वनको सही सदुपयोगका लागि समूहको गतिशिलता अनिवार्य रहेको बताउँदै उपभोक्ताको आर्थिक विकास, समूहको क्रियाशीलता र सशक्तिकरणका लागि समूहको भूमिका उल्लेखनीय रहने बताउनुभयो ।सो सभामा समूहका संस्थापक अध्यक्ष पदमलाल शाक्य, छिमेकी सिस्नेरी सामूदायिक उपभोक्ता समूहका उपाध्यक्ष यज्ञ खराल, मिलीजुली बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष रेनुका लम्साललगायतले समूहले गरेका प्रगतिशील कार्यहरुलाई प्रशंसा गर्नुभएको थियो । सभामा समूहका सदस्यकी छोरी अंकिता पाण्डेयले १२ कक्षामा ३.६ जिपिए ल्याई उत्कृष्टता हासिल गरेकोमा नगद रुपैयाँले सम्मान गरिएको थियो । सभाको सञ्चालन सचिव लक्ष्मी श्रेष्ठ र स्वागत समूहकी उपाध्यक्ष पूजा रजालीले गर्नुभएको थियो ।