
"आर्थिक विकासको राष्ट्रिय आधार : कृषि पर्यटन उद्योग र व्यापार" भन्ने मुल नारा सहित सैनामैना उद्योग वाणिज्य संघले सैनामैना कृषि पर्यटन तथा औद्योगीक व्यापार महोत्सव २०७६ यही पौष २४ गतेदेखी माघ ६ गतेसम्म सञ्चालन गर्र्दैछ । विश्व शान्तिका अग्रदुत तथा गौतम बुद्धको जन्मस्थल लुम्विनीदेखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित सैनामैना नगरपालिकामा संचालन हुन लागिरहेको मेलामा बुद्धकालिन सभ्यताहरुको पार्क निर्माण गरी मेलाको आर्कषणको रुपमा केन्द्रित गेर्ने सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्रीले बताउनु हुन्छ । विभिन्न जात जातिका सांस्कृतिक तथा धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन र कृुषि क्षेत्रलाई प्रोत्साहन गर्न सैनामैना नगरपालिकामा महोत्सवको आयोजना गरिएको र महोत्सवको तैयारी अन्तिम चरणमा पुगेको बताउने अध्यक्ष राजबहादुर क्षेत्रीसँग महोत्सवको बारेमा hamrogoreto.com ले गरेका कुराकानीका केही अंशहरु :
चौथो राष्ट्रिय सैनामैना आौद्योगिक व्यापार महोत्सव गर्दै हनुहुन्छ, कस्तो छ तैयारी ?
महोत्सवको तैयारी लगभग पुरा भइसकेको छ । हामीसँग २२० स्टलहरु छन् त्यसमध्ये धेरै जसो स्थानीय व्यापारीहरुबाट नै बुकिङ भई सकेको छ । कृषि, पर्यटन, उद्योग र व्यापारलाई बढी प्राथमिकता दिने गरी महोत्सवको तैयारी गरेका छौ ।
महोत्सवको व्यवस्थापन कसरी गर्नु भएको छ ?
सैनामैना नगरपालिका अन्र्तगत सैनामैना उद्योग वाणिज्य संघ र उद्योग व्यापार संघ छन् । त्यसमध्ये पहिलो महोत्सव उद्योग व्यापार संघले राख्यो, हामीले दोस्रो महोत्सव गरेका थियौ फेरी तेस्रो व्यापार संघले गर्यो र यस पटकको चौथो महोत्सव हामीले यो वर्ष निर्माणाधिन वहुउद्देश्यीय रंगशाला सैनामैना ४ मुर्गियामा गर्दैछौ । महोत्सवको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५, प्रर्वद्धक उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ५ एवम् सैनामैना नगरपालिका रुपन्देही र सहआयोजकमा सैनामैना व्यापार संघ रुपन्देही रहेको छ । नगरपालिकाले उद्योगी व्यापारीहरुको व्यापार व्यावसायलाई प्रर्वद्धन गर्न मेला महोत्सव अपरिहार्य हुने भएकाले नगरपालिकाका मेयर लगायत जनप्रतिनिधि तथा राजनीतिक दलहरुसँग यस नगरपालिका भित्र औद्योगिक क्षेत्र निर्धारण गरी स्थायी प्रदर्शनी स्थलको माग गरेका छौ । जुन उद्योगी व्यापारीको हितमा पनि हुने र खर्च पनि कम हुने छ ।
सैनामैना उद्योग वाणिज्य संघ र सैनामैना व्यापार संघ २०७१ सालमा एकै दिन स्थापना भएको थियो । महोत्सवको सन्दर्भमा जनप्रतिनिधि र राजनीतिक दल तथा व्यापारीहरुको सल्लाह र सहमति अनुसार नै हामी दुईवटा संस्थाहरुले आलो पालो रुपमा मेला महोत्सव गरेका छौ ।

सैनामैना उद्योग वाणिज्य संघ र सैनामैना व्यापार संघ एकै दिन स्थापना भएको भन्नु भयो, यी दुईबीचमा के फरक छ ?
सैनामैना उद्योग वाणिज्य संघले उद्योगी र व्यवसायी दुबैलाई हेर्ने गर्छ र उद्योग वाणिज्य संघको उद्योग वाणिज्य महासंघ पनि छ । त्यसैगरी व्यापार संघले व्यापारीहरुको हक हितको लागि मात्र हेर्ने भएकोले एकैदिन २०७१ साल भदौ २२ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको हो । त्यसबेला म संस्थापक वरिष्ठ उपाध्यक्ष रहेता पनि अध्यक्ष मोहनराज वानियाँ दर्ता हुनसाथ अमेरिका जानु भएपछि मैले नै सम्पूर्ण कार्यभार संहाल्दै आए र ६ महिना भित्रै अधिवेशन गराई म अध्यक्ष भएर ३ वर्षे एक कार्यकाल पुरा गरी २०७५ सालमा अधिवेशन गरी यहाँका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यावसायीहरुको सल्लाहबाटै पुनः अध्यक्ष बनी उद्योगी व्यापारीको पक्षमा क्रियाशिल हुदँै आएको छु ।
अहिलेको महोत्सवमा प्रमुख प्राथमिकता तथा आकर्षणहरु के के छन् त ?
विश्व शान्तिका अग्रदुत तथा गौतम बुद्धको जन्मस्थल लुम्विनीदेखि करिब १५ कि।मी। उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित सैनामैना नगरपालिकामा संचालन हुन लागिरहेको मेलामा बुद्धकालिन सभ्यताहरुको पार्क निर्माण गरी मेलाको आर्कषणको रुपमा केन्द्रित गर्दै छौ । नेपाल एक कृषि प्रधान मुलुक भएकाले हामीले कृषिलाई नै प्राथमिकता दिएका छौ । कृषिलाई प्रोत्साहन गर्न १० वटा स्टल नि : शुल्क प्रदान गरेका छौ । स्टलहरुमा कृषकहरुले उत्पादन गरेको वस्तुहरु मुल्याङ्कन गरी प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कारको व्यवस्था गरेका छौं । हामीले मेला अवधिमा युवा स्वरोजगार बनाउने खालको गोष्ठी कार्यक्रमसमेत राख्ने छौं त्यसैगरी मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानिय,राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको बृहत व्यापार, व्यवसायिक गोष्ठी तथा सेमिनार, स्थानिय कलाकारद्धारा सृजित मुर्तिकलाको प्रदर्शनी, खेलकुद, चोथौ सैनामैना डान्सिङ्ग आइडल, नगर स्तरीय विद्यालय लोक नृत्य प्रतियोगिता, वडा स्तरीय लोक दोहोरी गीत प्रतियोगिता,मम्मी डान्स प्रतियोगिता, कृषि सामाग्री प्रदर्शन,हस्तकला प्रदर्शनी, बाल उद्यान, घोडा सवार,संस्कृतिको प्रबद्र्धन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।
यो महोत्सवको लागि अनुमानित खर्च कति राख्नु भएको छ ?
महोत्सवको लागि मञ्च, गेट, साउन्ड सिस्टम, टेन्ट लगायत सबैलाई गरी ५५ लाख जति खर्च हुने अनुमान गरेका छौ ।
यो महोत्सवबाट कति आम्दानी हुने अनुमान गर्नु भएको छ ?
महोत्सवमा २० वटा स्टल होटल र २०० वटा अन्य व्यापार व्यावसवयको स्टल राखेका छौ । वास्तवमै हामी अहिले अत्यान्तै खुसी छौ किनभने अधिकांश होटल व्यावसायीहरु २,४ वटा बाहेक सैनामैना नगरपालिका भित्रकै हनुहुन्छ । १५० स्टलहरु स्थानीयबाटनै बुकिङ भइ सकेकाे छ र ५० वटा बाहिरी व्यवसायीबाट बुकिङ गर्नु भएको छ । हामीले स्थानीय, कृषि, तथा महिला उद्यामीलाई १० देखि ५० प्रतिशतसम्म छुट गरेका छाैं। मेलामा करिब ५० करोडको कारोबार हुने अनुमान गरेका छौ भने सबै खर्च कटाएर हामीले करिब १५,१६ लाख आम्दानी गर्ने अनुमान गरेका छौ ।
कति दर्शकहरुले अवलोकन गर्ने अनुमान गर्नु भएको छ ?
यो हाम्रो मेला महोत्सवको टिकटको लागि विभिन्न दररेट बनाएका छौ । जसमा सर्वसाधरणलाई रु ५०/- विद्यार्थीलाई रु ३०/- टिकट मुल्य रहेको छ भने ७० वर्ष नागेका वृद्धा र ५ वर्ष भन्दा मुनिका बालबालिका तथा अशक्त्त, अपाङ्गहरुलाई निशुल्क रहेको छ । यसरी हामीले कम्तिमा पनि २ लाख ५० हजार दर्शकहरु अवोलोकन गर्ने आशा राखेका छौ र प्रत्येक टिकटबाट १ रुपैयां छुट्याई सामाजिक कार्यलाई सहयोग गर्ने निर्णय गरेका छौ ।
यो महोत्सवमा नयाँ कुरा के राखिदै छ ?
नेपाल कृषि प्रधान देश भएकाले कृषिमानै बढी फोकस गर्ने साेंच गरेका छौ । त्यति मात्र नभई हाम्रो यस सैनामैना नगरपालिकालाई राष्ट्रमै चिनारी बनाउनका लागि यहाँ रहेका मगर, क्षेत्री, थारु लगाएत विभिन्न जातजातीका कला, यहाँका भेषभुषा, रहनसहन सस्कृति र यहाँका विभिन्न ऐतिहासिक, धार्मिक, सास्कृतिक एवं पुरातात्विक क्षेत्रहरु सबैलाई समेतेर महोत्सवमा दर्शाइने छ जसले गर्दा मेलालाई थप आकर्षक बनाउने छ । त्यसैगरी मेलामा सैनामैनाका महत्वपूर्ण चिजहरुको फोटो प्रदर्शनी गर्ने र सैनामैना नगरपालिका भित्रका राजमार्गका दायाँ र वायाँ १८/२० पर्यटकीय पार्कको प्रदर्शनी गर्ने र २०२० भ्रमण वर्षमा नेपाल सरकारको २० लाख पर्यटकलाई भित्र्याउने महोत्वकांक्षी योजनालाई सहयोग पु¥याउने आशा राखेका छौ । त्यसैगरी शेल्फी जोन, आकर्षक सचिवालय तथा मुख्य गेटको आकर्षण पनि विगतको भन्दा केही पृथक ढंंगले बनाईएको छ ।
अन्त्यमा केही भन्नु छ की ?
अन्त्यमा सैनामैना नगरबासीहरु, सम्पूर्ण यहाँका राजनीतिक दल, जन प्रतिनिधी, उद्योगी व्यवसायी, मिडिया क्षेत्र, शान्ति सुरक्षा, विद्यार्थी तथा सम्पूर्ण रुपन्देहीबासीहरु यस महोत्सवलाई भव्य तथा सफल पार्नका लागि आईदिएर अवलोकन गरी यहाँ भएका राम्रा पक्षलाई अनुशरण गर्ने र नराम्रा पक्षलाई उद्योग वाणिज्य संघलाई सल्लाह तथा सुझाव दिन अनुरोध गर्दछु ।