Hamro Goreto
लाहुरेले सञ्चालन गरेको कृषि व्यवसाय
Monday, 27 Jan 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

चन्द्रा थापा मगर

पाल्पा जिल्ला तानसेन न.पा.१३ बौघा गुम्ह नाई कुवामा २०१४ सालमा जन्म भएका देव बहादुर बगाले मगर २८ वर्ष भारतीय सेनामा कार्यरत अवकाश प्राप्त भू.पू. लाहुरे हुन् । भारतीय सेनामा गोर्खालीको शान जति उच्च हुन्छ उतिनै गर्विलो र उच्च शान रिटायर पछि नेपालमा  लाहुरेहरुको पनि उत्तिकै हुन्छ । २०३१ सालमा भारतीय सेनामा भर्ती भएर २८ वर्ष  पछि सु.मेजरमा  अवकाश भएका देब बहादुर बगाले मगरलाई  धन सम्पत्तिको कुनै खाँचो थिएन । 

उनले २८ वर्षसम्म  उर्जाशील जीवनका केही समयहरु पसिना बगाउदै दुस्मनको गोली र बन्दुकसँग लडेर आर्जन गरेका सम्पत्ति र अवकाश पछिका पेन्सनले  आफु र आफ्ना घरपरिवारलाई  जिविका चलाउन राम्रैसँग पुगेको थियो । यद्यपी अवकाश पछिको बाँकी समयलाई सदुपयोग गर्दै उनी अहिले कृषि व्यवसायतिर लागेका छन् ।  उनी लाहुरे परिवारमा जन्म भए पनि पहाडी परिवेशमा घाँस, दाउरा,पानी पँधेरो गरी औषत नेपाली बालबालिकाहरुको जस्तै उनको बालापन वितेको थियो । 

बुवा लाहुरे भएका कारण उति बेलाको लाहुरे हुने प्रवृतिले उनलाई पनि छोएको हुँदा मनमा लाहुरे हुने चाहना भएकोले तानसेन पद्य्म पव्लिक हाईस्कुलमा कक्षा ९ मा अध्ययन गर्र्दै गर्दा १७  वर्षको कलिलो उमेरमा भर्ती हुन पुगेका थिए ।  पहिलो छुट्टीमा  पाल्पाकै टिकी सरा बगालेसँग लगनगाँठो कसेपछि देब बहादुर बगाले मगर पारिवारीक जिम्मेवारीमा बाधिए पनि आर्मीको नियममा रहेर विभिन्न दःख कष्ट गर्दै आफ्नो अध्ययनलाई अगाडि बढाउनेक्रम  जारी नै रहेको थियो । त्यति बेला उनको बुवा आमा लगायत सपरिवार रुपन्देही जिल्ला ति.न.पा. १४ टिकुलीगढमा  बसाईसराई गरी सकेका थिए । यसैक्रमा उनले २८ वर्षे लाहुरे जीवन पार गर्दै  २०५९ सालमा सु.मेजरमा अबकाश भएर घरमा आउँदा देव बगाले मगरलाई यो समाजमा भिज्न केही समय लागे पनि उनले टिकुलीगढमा विभिन्न संघ सस्थासँग आबद्ध भएर सामाजिक काम गर्दै आएको कुरा बताएका छन् ।  

उनलाई शारीरिकरुपमा फिट रहन र स्पोर्टसमा पनि  लगाव भएको कारण त्यहाँका भू.पू. लगायत युवाहरुका लागि नमदेश्वर युवाक्लव स्थापना गरी व्याटमिन्टन फुटबल लगायत विभिन्न  खेलको शुरुवाट गर्दै सामाजिक  काममा लागे पनि  बाँकी समय यसै बिताएर बस्न पटक्कै मन लागेन उनलाई  यद्यपी साथीहरुको सल्लाह अनुसार रुपन्देही तिलोत्तमा १४ टिकुलीगढ, खैरीयामा शशि कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।  अहिले उनको फार्ममा विभिन्न प्रजातिका माछाहरु रहु, कमन, ग्रास, सिल्भर, नैनी, ब्रिगेट, माङगुर  तथा कोइलर, बोइलर कुखुरा लगायत उन्नत जातका बंगुर पनि रहेका छन् ।

 

३२/३३ लाखको लगानीमा सञ्चालन गरेको यो व्यवसाय जम्मा एक वर्ष मात्र पुगेको छ । मौसमी खेती धान गहुँ भन्दा माछा पालन व्यवसायबाट बढी आम्दानी हुने साथै माछा  स्वास्थ्यको लागि पनि अति लाभदायक हुने हुँदा यो व्यवसायतिर आकर्षित  भएको कुरा बताएका थिए । शुरुमा २०० माछाका भुराबाट शुरु गरेको यो व्यवसाय अहिले उनको पोखरीमा २५०० भन्दा  बढी माछाहरु पौडीरहेका छन् । एउटा  भुरालाई ३ देखि ५ रुपयाँ सम्मको मुल्यमा किनेर ल्याए पछि नर्सरीमा राखेको केही दिन पछि पोखरीमा छोडिदिएका हुन्छन् । ती माछाहरुलाई राम्रोसँग दाना पानीको व्यवस्थापन गर्न सकियो भने ५/६ महिनामा ग्रास ३ केजी र अन्य २ ढाई के.जी. तौल सम्मका माछा आफ्नो पोखरीमा भएको अनुभवको कुरा बताए । उनको यो व्यवसाय कुनै दक्ष र अनुभवीबाट तालिम प्राप्त गरेको अनुभवको व्यवसाय भने होइन । गर्दै जादा बुझ्दै जादा अनुभवी भइदोरहेछ भन्दै उनीसँग तालिम प्राप्त गरेको भन्दा कम अनुभव छैन त्यसैले आजभोलि उनको दैनिकी प्राय फर्ममै वितेको हुन्छ ।  विहान वेलुकी माछालाई दाना राख्दा प्राय एउटै ठाउँमा राखिदिने हुदा  दाना खान आएका  २/३ हजार माछाहरु एकै ठाउँमा जमघट भएको देख्दा उनलाई निकै आनन्द लाग्छ । 

उनी माछासँग खेल्न थालेको धेरै समय नभए पनि  पोखरी भित्र पानीको छाल तलमाथि गरी रहेको माछाको हाउभाउ र माछाले के खोजीरहेको छ भन्ने वास्तविक कुरा देव बगाले मगरले बुझ्न थालि सकेका छन् । माछा  र बंगुर पालन व्यवसाय अनुभव विना गरे पनि कुखुरा पालन सम्बन्धि भने छोरा श्यामले तालिम लिएर शुरु गरेका हुन् । यो व्यवसाय  गर्दा आइ पर्ने  चुनौतीहरु  माछा र बंगुरलाई राम्रोसँग रेखदेख गर्न सकियो भने खासै समस्या नदेखिए पनि  कुखुुरा पालनमा भने जाडो र गर्मीमा निकै समस्या भएको कुरा बताएका थिए  ।
उनले यो व्यवसायलाई पछिसम्म टिकाइराख्ने आधारहरु यो क्षेत्रमा प्रशस्तै देखेका छन् ।  रुपन्देही जिल्ला माछा पालन व्यवसायले देशकै नमुना क्षेत्र मानिने हुदा यसको पकेट एरिया छपियालाई मानिए पनि पछिल्लो समय भने रुपन्देही टिकुलीगढ आसपासका क्षेत्रमा पनि  माछा पालन कृषकहरु ह्वात्तै बढेको देखिन्छ । यसै कारण यो क्षेत्रलाई पनि कृषिको पकेट एरिया बनाएर यहाँ उत्पादन गरिएका माछा, कुखुरा लगायत अन्य तरकारीहरु विभिन्न ठाउँमा निर्यात गर्न सकिन्छ भन्ने साेंचाई रहेको कुरा पनि बगाले मगरले जानकारी गराएका छन् । उनले आगामी दिनमा यो व्यवसायलाई अझै व्यवस्थित गर्दै लैजानुकासाथै पछिसम्म पनि निरन्तरता दिने सोँच बनाएका छन् ।