Hamro Goreto
शहिद यादवनाथ आलोकको स्मृतिमा भोलीदेखि फूटसल प्रतियोगिता हुँदै
Wednesday, 04 Mar 2020 00:00 am
Hamro Goreto

Hamro Goreto


रुपन्देहीको तिलोत्तमामा शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता हुँदैछ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा भोली बिहिबारदेखि हुने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । 
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा आयोजना गरिएको प्रतियोगितामा तिलोत्तमा नगरपालिका भित्रका १७ वडाका १७ टिम, तिलोत्तमा नगर समिति, बुटवल नगर समिति, क्षेत्रीय समिति र जिल्ला समिति गरि २१ टिमले प्रतिस्पर्धा गर्ने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो । शहिदको सम्मान पनि हुने र युवाहरुलाई खेलकुदका माध्यमबाट सत्मार्गमा हिडाउनकालागि पनि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो । 
तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुर स्थित फ्रेन्डस विस्ट्रो स्पोट्समा यहि फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेतालाई ३० हजार रुपैंयाँ र उपविजेतालाई १५ हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट किप्पर, उत्कृष्ट हाईस्कोर र उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन जनालाई जनही २ हजार रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खर्जुन क्षेत्रीले जानकारी गराउनु भयो । 
प्रतियोगिताको बारेमा जानकारी गराउनकालागि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा त्यसबाहेक आयोजक र पत्रकारकाबिचमा मैत्रीपूर्ण फूटसल खेल हुने नेपाल तरुण दल तिलोत्तमा नगर समितिका सचिव होम पौडेलले जानकारी गराउनु भयो । प्रतियोगिता सम्पन्न गर्नकालागि २ लाख ६० हजार रुपैंया लागत अनुमान गरिएको र प्रथम पुरस्कार तरुण नेता कुमार दुवेले प्रदान गर्नुभएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । 
नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा काँग्रेसको संगठन बिस्तारका लागि आएको तत्कालिन पार्टीका महामन्त्री गिरिजाप्रसाद कोईराला, वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको टोलीमाथि २०४० फागुन २० गते रुपन्देहीको देवदह स्थित सुरजपुरामा आक्रमण भएको थियो । त्यही आक्रमणमा परि गम्भिर घाईते जिल्लाका नेताहरु तिलोत्तमा निवासी यादवनाथ आलोक र देवदहका रामनारायण चौधरीको उपचारको क्रममा फागुन २२ गते निधन भएको थियो । तरुण दल तिलोत्तमा नगर समितिले तिलोत्तमा निवासी आलोकको स्मृतिमा फूटसल प्रतियोगिता आयोजना गरेको र यो कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिने अध्यक्ष क्षत्रीले बताउनु भयो ।