Hamro Goreto
११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र यसको सान्दर्भिकता
Friday, 06 Mar 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

दाना केसी, रोल्पा
‘जहाँ शोषण हुन्छ त्यहाँ संघर्ष हुन्छ, ‘जहाँ दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ’ भने झैं पतृसत्तात्मक विभेद विरुद्ध “समान श्रमको समान ज्याला” भन्ने मूल नारा बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको छुट्टै महत्व रहेको छ । ११०औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपले मनाउन गईरहेका सम्पूर्ण श्रमिक महिलाहरुलाई यो सुखद अवसरमा सम्झन मन लागेको छ । अन्तराष्ट्रिय महिला दिवसको कुरा गर्दा यसको स्थापित कर्ता जर्मनकी एक महिला क्लारा जेडकीनको नामसँग जोडिएको पाईन्छ । उनी एक शिक्षित र खान्दानी परिवारमा जन्मिएकी थिइन् । आफ्नो पारिवारिक वातावरण भन्दा पनि पर रहेर एउटा महिलाको मुद्दालाई अगाडि सारेर विश्वसामु आफ्नो योगदानलाई प्रचार–प्रसार गर्न सक्षम महिलालाई हामीले आत्मसात गर्नुपर्छ । महिलामाथि हुने गरेका हिंसा, बलात्कार, शोसन र दमन हिजोदेखि नै यथावत थियो भन्ने कुरा यी नै इतिहासले स्पष्ट पार्दछन् । क्लारा अन्तर्राष्ट्रिय समाजवादी महिला नेता पनि थिइन् । उनले आफ्नो राजनीतिमा पनि निकै उतार चढाव भोगेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमै आफ्नो ठाउँबाट महिलामाथि हुने असमान व्यवहारले यो मुद्दालाई विश्वमा पु¥याउनु थियो । युरोपको सामन्ती आर्थिक क्रान्तिको पतन पछि पूँजीवादले श्रमिक महिलामाथि गरेको शोसन, दमन नै पहिलो थियो । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पृष्ठभूमिलाई फर्केर हेर्दा ठूलो चुनौतिलाई कुल्चिदै अघि बढेको पाईन्छ । यीनै मुद्दा महिला अधिकारको लागि अभियानको मूलनारा बनेर यो अवस्थामा आइपुगेको छ । हाम्रा सामु आईपुगेको ११०औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरुमा शुभ–कामना व्यक्त गर्दछु । समाजमा महिला मान्छेको स्थान नगनिने अवस्था, चरम शोसन, श्रमप्रतिको हेपाहा प्रवृत्ति जस्ता कुराले गर्दा शुरुमा सन् १८८९ मा पेरिसबाट शुरुभएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्यूओर्कको एक धागोको कारखानाबाट “समान श्रमको समान ज्याला” भन्ने मूल नारामा सन् १८९० मार्च ८का दिन नै महिलाहरुको आवाज बुलन्द गर्न आन्दोलन कै रुपमा एकजुट भई यो दिवसलाई मनाइएको पाईन्छ । खासगरी आम श्रमिक महिलाको दाँजोमा महिला श्रमिकले विशेष किसिकले सम्मान पाउनु पर्ने माग हो । त्यो समयदेखि नै विश्वमा ८ मार्चलाई महिलाकोहरुको लागि उत्सवको दिन मानिंदै आएको छ । अन्तर्राष्ट्रिय स्तरबाट सम्पूर्ण महिलाहरुको लागि उठेको वास्तविक र सह्रानीय अभियान कारुणिक हुनु आफ्नै ठाउँमा छ । यो अभियानलाई नेपालको राजनीति र नेपाली महिलाहरुको जनजीवनसँग जोडेर हेरौं । नेपाली महिलाहरुले वैधानिक रुपमा आफ्नो अधिकारको खोजनीति गर्दा–गर्दा लामोसमयसम्म पितृसत्तात्मक राज्य भएको कारण उचित तरिकाले प्राप्त गर्न असफल भएको पाईन्छ । थोरै भएका नीतिलाई पनि कार्यान्वयन गर्न नसकेको अवस्थाले महिलाको जीवनमा समस्या देखिएको हो । “मागेर होईन खोसेर लिने अधिकार”लाई नेपाली महिलाहरुले अझै केहि कसरत गर्नु पर्ने देखिन्छ किनभने नेपालको सन्दर्भमा भन्दा नेपाली महिलाहरुले पूर्णरुपमा अधिकार लिन सकेकाछैनन् ।
प्राय जसो ८ मार्च फाल्गुन २४ वा २५मा पर्दछ र यो वर्ष पनि फाल्गुन २५ गते का दिन नै ८ मार्च परेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सम्झनामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अधिराज्यभरी आ–आफ्नो संगठनात्मक तरिकाले सम्पन्न गर्दै गरेको अवस्थालाई गौरब गर्नु पर्दछ । बिचार आ–आफ्नो ठाउँमा भए पनि आम महिलाहरुको समस्या र उद्देश्य एउटै हुन्छ । त्यसैले अहिले सम्म महिलाहरुले आ–आफ्नो स्थानबाट अधिकारको आवाजलाई वुलन्द गर्न चैं भुलेका छैनन् ,यो अभियानले निरन्तरता पाउने छ । ११० वर्ष अगाडि नै महिलाको वास्तविक जीवनसँग सहकार्य गर्दै र पीडित महिला जीवनको घटनालाई आत्मसात गर्दै सुनौलो भविष्यको अभियान दाताहरुलाई साथ दिंदै आउने क्रममा अहिले २१औं शाताव्दीका महिलाहरुले पनि यो अभियानसँग हातेमालो गर्न छोड्नु हुँदैन । हामीले सुनेका छांै र भोग्दै आइरहेका पनि छांै कि अधिकार भन्ने वस्तु धेरै महत्वपूर्ण र पद लोलुपलापूर्ण हुन्छ । कसैले पनि पाएको अधिकार दिन र खादै गरेको भाग अरुलाई सुम्पन, सहजै स्वीकार्न कठिन पर्दछ । नेपाली जनता, नेपालको राज्य सत्ता, राजनीति र नेपालीहरुको वास्तविक जीवनको वर्णन गर्दा जो कोहिले पनि १० वर्षे जनयुद्धलाई भुल्नु हुदैन, किनकि नेपाली जनताको जीवन १० वर्षे जनयुद्ध लगायत १९ दिने जनआन्दोलनसँग जोडिएको छ, यी संघर्षहरुले ठूलो भूमिका खेलेकाछन् । क्रान्तिमा हाम्रा महिला दिदी, बहिनीहरुले हरेक क्षेत्रबाट सहयोग मात्र होईन त्याग, तपस्या लिएर बलिदान गरेको अवस्था होे । बर्षै पिच्छे अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु र महिला उन्मुक्तिको आन्दोलनको दिनलाई स्मरण गर्नु दिदी बहिनीले आ–आफ्नो बारेमा दुःख र सुख पोख्नुका साथै सहयात्री साथीहरुको गुनासो र वेदनालाई सहकार्य मार्फत प्रस्फुटन गर्दै आएको पनि आज ११० वर्ष पुगे छ । विशेष दिनमा हाम्रो भेटहुने र फेरि अन्य परिस्थतिमा पीडालाई लुकाउनु परे यसको अर्थ रहंदैन । जुन युरोप र अमेरीका जस्ता विकसित राष्ट्र छन् ती राष्ट्रहरुमा पनि समय समयमा महिला हिंसा र बलत्कार जस्ता चरम यातनाका समाचारहरु सुन्नमा आउँछ । यस्तो किन हुन्छ त भन्दा पितृसत्ताको प्रशासन हाबी हुनु, महिलाहरुको मुद्दालाई देखाउन नचाहनु हो ।
विकसित देशका शिक्षित महिलाहरुले आफ्नो अधिकारलाई पूर्ण रुपमा प्राप्त गर्न नसकेको अवस्थामा हाम्रो नेपालको राज्यले महिला अधिकारलाई पूर्णरुपमा सहजै सुम्पनको लागि मनस्थिति बदलिनु पर्दछ र महिलाहरुको जीवनस्तर पनि अलि माथि उठ्नु पर्दछ । त्यो समय र यो समय त धेरै फरक छ, तर पनि जति हुनुपर्ने हो महिलाको जीवनमा परिवर्तन चाहिँ नभएकै हो । किनकि राज्यस्तरबाट नै हेर्ने हो भने पनि महिलाको लागि भनेर आधिकारीक रुपमा शून्य अवस्थाको व्यवस्थामा आन्दोलनबाट नै प्राप्त भएको त हो ३३ प्रतिशत आरक्षण १ ३३ प्रतिशत पनि निर्णायक पदमा खै र महिलाको पहुँच पुगेको रु यसको लागि महिला एक्लैले गर्ने स्थिति पनि त होइन । जीवन जीउनलाई त महिला र पुरुषको अपरिहार्य छ भने सत्तासंचालनमा पनि त्यसको खाँचो त छ नि रु तर हाम्रो नेपालमा परम्परा, धर्म, सँस्कृति र सामाजिक दृष्टिले बडेमानको जरा गाडेको छ र सबैको मनस्थितिलाई संकुचित बनाएको छ । आमाको नाममा नागरिकता पाउनलाई कति ठूलो आन्दोलन गर्नु प¥यो रु अहिले पनि व्यक्ति हेरेर आमाको नाम भन्ने ठाउँमा खाली भएको पाउन सकिन्छ । यो सत्य कुराहो लुकाएर लुक्ने होईन । नेपाली समाजमा महिला अधिकारका लागि विभिन्न किसिमका आन्दोलन र अभियान संचालन भइरहेको अवस्थामा प्रत्येक वर्ष एक चोटी भएपनि मनाउने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमले थप उर्जा थप्दै, अर्गानिकक शक्ति दिनुकासाथै सबैलाई उपचार गर्न सफल भएको छ । म त भन्छु यसले आजीवन निरन्तरता पाओस् । विडम्वना के भने अधिकार र स्वायत्तताका लागि महिला आन्दोलन आ–आफ्नो क्षेत्रबाट सक्रियकासाथ र आवाज बुलन्द हुँदाहुँदै पनि ठाउँ–ठाउँमा महिला हिंसाका घटनाहरु घटेका यथावत छन् । व्यक्ति, परिवार र समाजले लगाउने आरोप प्रत्यारोपदेखि लिएर महिलाहरुलाई यौन क्रियाकलापका आरोप लागाउनु, अभद्र व्यवहार गर्नु, होच्याएर बोल्नु, महिला भएकै कारण समाजमा हरेक कुरामा पछिपार्नु जस्ता व्यवहारहरु आम महिलाहरुले भोग्नु परेकोछ, यो नै महिला हिंसा हो । अधिकार कै कुरा गर्ने हो भने नेपालको सन्दर्भमा उदाहरणकोलागि लिन सकिन्छ ललितपुर, भक्तपुर, पोखरा तिरका इट्टाभट्टामा काम गर्ने महिलाहरुलाई पनि आफ्नो पारिश्रमिक दिनमा कति हुन्छ, महिनमा कति हुन्छ भन्ने कुरा स्वयम्लाई नै स्पस्ट नभएको सुन्न पाईन्छ । अझै हामी कुन स्तरमा छौ भन्ने कुरा यीनै उदाहरणबाट स्पस्ट हुन्छ । श्रमिक महिला हिंसा प्रकारका हिसाबले मानसिक लगायत शारीरिक, आर्थिक, सामाजिक हिंसाका शिकार बन्दै आएका छन्, नेपाली महिलाहरु । दाइजोको नाममा मुद्दा उठाई यातना दिने, उत्तेजित कामहरुमा तृप्त पुरागर्न इच्छा विपरीत शारीरिक शोषण गर्नु र महिलाहरुलाई अन्त्यमा मृत्युको बाटोलाई रोज्न पठाउनु, बलत्कार पछि हत्या गर्नु जस्ता जघन्य क्रियाकलापहरु नेपाली समाजमा चुलिंदै गएको छ । अझ भन्ने हो भने हामीले अझ बढ्दो रुपमा ५ देखि १४ वर्ष मुनीका बालिकाहरु बलत्कारका सिकार भैरहेको सुन्नु परेको छ । उदाहरणकालागि निर्मला हत्या काण्ड जीवीतै छ, उनको बलत्कार र हत्याले न्याय पाएको छैन, २०७५ श्रावण १० गते घटेको घटना आज सम्म बलत्कारी हत्यारा अन्न्वन रहेकोछ । यहाँ यस्ता हृदय विदारक घटनाले महिलाहरुको जीवन र इज्यत जोगाउन अझ कठिन भएको आभाष भएको छ । अव यसकालागि राज्यले पनि यी घटना विरुद्ध सशक्त अभियान चलाउनु पर्दछ । होईन भने फेरी हाम्रा अधिकार त्यति कै ओईलाउने हुन कि भन्ने डरछ । पीडालाई लुकाएर बस्न बाध्य भएका नेपाली समाजका श्रमिक महिलाहरुलगायत सम्पूर्ण महिलाहरुको लागि म आफ्नो तर्फबाट आवाजमा आवाज थप्न चाहान्छु । समयले सबैलाई विकृति र विसंगति तिर धकेल्दै छ । २१ औं शताव्दीको राजनीतिले हामीलाई अधिकार र स्वतन्त्रताको भाग छुट्याउनुको सट्टा आफ्नै सुरक्षाको ग्यारेन्टी दिन नसकेको अवस्थामा राज्यलाई फेरि हाम्रा प्रत्येक कदमका आन्दोलनले थप पृष्ठपोषण दिनु पर्ने देखिएको छ । किनकि महिलाका हरेक किसिमका मुद्दाका सुनुवाईको सबैभन्दा महत्व राज्यले दिनु पर्दछ । राज्यका कोटामा बसेका सम्पूर्ण महिलाहरुलाई पनि हाम्रा आवाजमा आवाज बुलन्द गर्न र भाषण मात्र होइन कार्यक्षेत्रमा पुगेर सम्पूर्ण श्रमिक महिलाहरुको कथा व्यथा बुझ्न अनुरोध गर्नै पर्नेहुन्छ ।
महिलाले अलि फराकिलो भएर परिवार, समाज र राष्ट्रलाई नियालेर आफ्ना कदम चलाउँदा सहयोग र सद्भावको पनि उतिकै खाँचो पर्दछ । किनभने हरेक कार्य सम्पन्न गर्नको लागि हातेमालो गर्ने सहयात्रीको पनि उतिकै आवश्यक पर्दछ । यसको लागि महिला हक–हित र स्वायत्तताकोलागि राज्यले पूर्णरुपमा जिम्मा लिनु पर्दछ । हरेक क्षेत्रबाट राज्यले महिला भएकैकारण उनीहरुले पाउनु पर्ने अधिकार, सहयोग र बन्धुत्वको भावनाबाट टाढा नदेखेर विशेष ग्रहायता दिनु आवश्यक छ । किनभने समय सापेक्ष महिलाका आन्दोलन र मागले यही देखाउँछ, महिलालाई विशेष सम्मान चाहिएको छ । परिवर्तनको नाममा समय अनुसार महिलाहरुको जीवनस्तर माथि नउठ्नुमा यसको समीक्षात्मक दोष राज्यले लिनु पर्दछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम विश्वव्यापि रुपमा सम्पन्न हुदै आईरहेको छ । प्रत्येक वर्ष यसलाई उत्सवको रुपमा मनाउने चलन पनि फरक–फरक हुँदैछ, तर जहाँका महिलाहरुले जुन रुपमा महिला वा नारी भनेर चिनिने यो दिवस मनाउछन्,अन्तिममा “विद्यालय जानकोलागि बाटो अनेक भएको झैं हो” । यसमा कसैले दुई तरिकाले सोच्ने र संकुचित हुनुपर्ने देखिदैन । यो भन्ने वा बोल्नेको ध्वनि, तरङ्गमा फरक भएको मात्र हो । सम्पूर्ण महिला एक हुन सक्यौं भने असम्भव भन्ने र असक्षमको कुरै आउँदैन । अतः ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य र सभ्यताकासाथ मनाऔं १ अन्तिममा महिला एक हौं ।