
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरी सरकारले सोमबार जारी गरेकाे राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार खारेज गरेकी छिन् ।
उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।
उक्त दुई अध्यादेशले राजनीतिक दललाई विभाजन गर्न सजिलो हुने र संवैधानिक आयोगमा नियुक्ति गर्दा प्रमुख प्रतिपक्षी दलका नेतालाई बाहिर राख्ने भन्दै चर्को आलोचना भएको थियो।
यसअघि बिहीबार साँझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ६ जना सचिवालय सदस्यको भेलाले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको थिए। चौतर्फी विरोधपछि सरकारले शुक्रबार नै अध्यादेश फिर्ता गर्ने निर्णय गरेको थियो ।