महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री
पाल्पा तिनाउ गाउँपालिका–१, आर्खोट्डीकी सुसिला सुनारी सबेरै उठ्छिन् । घरको कामको माजो सक्छिन् । परिवारसँगै खाना खान्छिन् ।अनि लाग्छिन् आर्खोट्डी मगर भेजा समाजको भवनमा । जहाँ उनी हस्तकलाका सामग्री उत्पादन गर्छिन् । चार वर्ष अघि लिएको तालिम उनलाई अहिले धेरै उपयोगी भएको छ । थाकलको पातबाट विभिन्न सामग्री उत्पादनमा उनी दिदीबहिनीसँग दिन बिताउँछिन् ।यता रेमकला पुनमगर पनि घरको काम सकेर समाज भवनमा समयमा पुग्छिन् । घरको खाली समयलाई सदुपयोग गर्दै उनी टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग जस्ता सामग्रीहरू बनाउँछिन् ।वैशाख ताका सिजनमा जङ्गलमा थाकल टिप्ने र त्यसलाई प्रशोधन गरी हस्तकलाका सामग्री उत्पादन गर्ने गरेका हुन । सिलाईकटाईको तालिम लिएकी उनी घरमा । पुराना र उध्रिएका कपडा सिउँथिन । धेरै थोरै आम्दानी भएको थियो ।उनको त्यही सीप अहिले हस्तकलाको सामग्री उत्पादनमा उपयोगी भएको छ । एक हप्ताको तालिमसँगै उनी टोपी, ब्यागजस्ता सामाग्री बनाउन सक्षम भइन । समूहमा बसेर एक वर्षदेखि उत्पादन सुरु भएको हो । आगामी दिनमा टपरी बुन्ने, मकैको पोस्कर बनाउने जस्ता तालिमहरू तयार गर्न आफूहरू इच्छिुक रहेको उनले बत्ताइन् ।

वन पैदावर अनुदानमा आधारमा कार्यक्रम डिजिएमको प्राविधिक र आर्थिक सहयोगमा तालिम दिएर महिला सशक्तिकरणको पाटोमा महत्त्वपूर्ण काम भएको आर्खोट्डी मगर भेजा अध्यक्ष यमानसिह चिदिले बताए ।मिचाहा जातिको प्रजातिमा पर्ने थाकलको पातलाई प्रशोधन गरी सामग्रीबाट उत्पादन गरिँदै आएको उनी बताउँछन् । ‘जेठ/असारमा पात टिक्ने गरिन्छ,’–उनले भने । सङ्कलन भएका पातलाई सुकाउने, आवश्यकता अनुसार रंगरोगन गर्ने पुनः सुकाउने काम हुन्छ ।जसलाई करिब २–३ दिन सुकाउने गरिन्छ । सुकेको पातलाई आवश्यकता अनुसार रङ्ग लगाउने र पुन सकाउने र फेरि एउटा रोल गर्ने गरिन्छ । यसबाट नै विभिन्न उत्पादनहरू तयार गरिन्छ । यसरी तयार भएको कच्चा पदार्थ स्टोर गरेर राखिन्छ ।

‘बजारमा माग अनुसार हस्तकलाका सामग्रीहरू उत्पादन गरिन्छ,’– उनले भने । टोपी, झोला, चप्पल, पर्स, ह्याडब्याग लगायत उत्पादन हुन्छ । थोरै लगानी र मेहनतमा आयआर्जन गर्न सकिने हुँदा पनि महिलाहरूलाई सहज भएको उनी बताउँछन् ।सहरमा क्षेत्रमा हुने प्रदर्शनी, मेला र संघसंस्थाहरूको साधारण सभामा समेत उनी यी सामग्री प्रदर्शनका लागि लैजाने गर्छन् । गाउँपालिकाबाट समेत सहयोग हुँदा धेरै मद्दत मिलेको उनी बताउँछन् । समाजमा आबद्ध करिब दुई दर्जन महिला दिदीबहिनीहरू आबद्ध छन् ।वार्षिक रूपमा १५-२००० थान सामग्री उत्पादन हुने गरेको उनी बताउँछन् । यस्ता उत्पादन नेपालभन्दा बाहिरी देशहरूमा माग रहेको भए पनि त्यो सक्न सकिएको छैन र ठुलो मात्रामा उत्पादन गर्न सके यसलाई पर्यटकीय देशहरू थाइल्यान्ड जस्तामा बिक्री वितरण गर्न सकिने सम्भावना रहेको छ । कोशेलीघर निर्माण गर्न सके थप मद्दत मिल्ने उनी बताउँछन् ।यता रानीढुगा सामुदायिक वन उपभोक्ता समूहका सहसचिव दुर्गा पुनले गाउँमा पाइने थाकल टिपेर आयआर्जन गर्न सफल भएको बताए । वनबाट दिगो रूपमा सङ्कलन गर्न सकिने थाकल, निगालो जस्ता गैर काष्ठ बनौटी पदार्थहरूलाई उचित रूपमा उपयोग गर्न सके गाउँका महिलाले घरमै बसेर राम्रो आम्दानी गर्न सकिने अवस्था छ ।पहिले थाकलको प्रयोग थोरै मात्रामा सीमित थियो, तर अहिले प्रशिक्षण र बजार पहुँच विस्तारसँगै महिलाहरूले सङ्कलन, प्रशोधन र बिक्रीमार्फत नियमित आम्दानी गर्न थालेका उनी बताउँछन् ।यसले महिलाको आर्थिक सशक्तीकरणसँगै वनबाट दिगो उपयोग र संरक्षणको भावना पनि बढिरहेको पुनको भनाइ छ । आर्खोट्डीमा ५० टोलधुरी रहेका छन् ।
