प्रेस विज्ञप्ति
प्राकृतिक विपद्मा मानवीय उत्तरदायित्वः बाढी प्रभावित प्रति गम्भीर ध्यानाकर्षण
प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल
(Nature-Human Centric People’s Movement, Nepal)
मितिः २०८३/०५/११
प्रेस विज्ञप्ति !
प्राकृतिक विपद्मा मानवीय उत्तरदायित्वः बाढी प्रभावित प्रति गम्भीर ध्यानाकर्षण !
सर्वप्रथम, यहि भाद्र १० बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षतिले प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ। यस विपद्मा मृत्युहुने संपूर्ण मृतकहरु प्रति हाम्रो अभियान भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।साथै घाइतेजनहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। यस दु:खद घटनाले हिमाली क्षेत्रमा ग्लोवल वार्मिंग, जलवायु परिवर्तन र अध्ययन विनाका विकासे अभ्यासले प्राकृतिक जोखिमको संबेदनशिलता पु:न एकपटक उजागर गरेको छ ।
हामी नेपाल सरकार समक्ष निम्न अनुरोध गर्दछौं :
१ उक्त घटनाका घाइतेहरुको निशुल्क औषधी उपचारको तत्काल व्यवस्था गरियोस् ।
२ बेपत्ता भएकाहरुको खोजिमा प्रभावकारी कदम चालियोस् ।
३ विस्थापित र प्रभावित परिवारहरुको लागि तत्काल राहत, सुरक्षित आवास र पुनर्स्थापनाको दिगो व्यवस्थापन गरियोस् ।
४ भोलिका दिनमा यस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यून गर्न नदी किनारका वस्तीहरुको जोखिम नक्सांकनका साथै प्रकृतिसंगको सन्तुलन बिगारेर हुने विकास दिगो नहुने भएकोले पूर्वसूचना प्रणाली र प्रकृति-मानव मैत्री पूर्वाधारमा लगानी बढाइयोस् ।
वर्तमानको यो संकट एकाएक पैदा भएको भने होइन विगत ३०० बर्ष देखि विश्वमा आफ्नो हातमा सत्ता लिएर राज गरिरहेको कर्पोरेट प्रणालीले धन र सत्तालाई केन्द्रमा राखेर प्रकृति र मनाव विरोधी गतिविधि गरेकै कारण पैदा भएको जैव–सामाजिक संकट नै हो । जलवायु परिवर्तन, पर्यावरणीय गिरावट र ग्लोवल वार्मिंगका कारण अहिले नेपालमा मात्र नभई विश्व व्यापी रुपमै कतै बाढी, पहिरो, तातो हावा, हुरी, आंधी बेहरी, हिमपात र हिमतालहरु फुट्ने जस्ता असरहरु ब्याप्त छन् ।
विद्यमान विपत्तिहरूको कारण वर्तमान प्रकृति र जीवन विरोधी विश्व प्रणालीमा निहित छ जुन प्रकृतिको दोहन गरि अधिकतम पूँजी संकलन गर्ने र सत्ता टिकाउनेमा आधारित छ । तिनीहरुको प्राकृतिक विपत्तिसंग कुनै मतलव छैन । तिनीहरूको अनौंठो जीवन–शैली “भन्ने एउटा कुरा र गर्ने अर्को” रहेको छ । यसबाट नेपाल पनि अछुत छैन ।
हामी के ठान्दछौ भने यदि जीवन, जगत र मानव समुदाय प्रती जिम्मेवार हुने हो भने संपूर्ण सरकार, राजनीतिक दलहरु लगायत विश्व कर्पोरेट पूँजीवादी व्यवस्था प्रकृति मैत्री र जीवन मैत्री व्यवस्थामा रुपान्तरण हुनु अनिवार्य छ ।
अन्त्यमा, यो विपद्को घडिमा हामी प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल यो विज्ञप्ती मार्फत प्रभावित परिवारहरुको दु:खमा ऐक्यबद्ध छौं र राहत तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं ।
बिन्दु राज सापकोटा
अध्यक्ष
प्रकृति–मानव केन्द्रित जन अभियान, नेपाल
