ओझेल भित्रका सचेतना अभियान
No icon

केवल संझना मात्रै रबिन्द्र दाजु हार्दिक श्रद्धासुमन

दिनेश घिमिरे 

नेपालीमा एउटा आहान छ, सम्झनलाई पो मिहिनेत चाहिन्छ, बिर्सनलाई नसम्झिदिए पुग्छ । तर होइन रहेछ । कुनै-कुनै विषय बिर्सन जति कठिन छ, सम्झन उत्ति सजिलो । मेरा लागि रवीन्द्र अधिकारी बिर्सन कठिन नाम हो ।

भर्खर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसबाट स्नातकोत्तर सिध्याएर छुट्टीमा पोखरा फर्केको थिएँ । त्यतिबेला रवीन्द्र दाइ संसदको विकास समिति सभापति हुनुहुन्थ्यो । एक साँझ फोन गरेर रवीन्द्र दाइले भन्नुभयो, मैले एउटा किताब तयार गर्दैछु भेटौं है ।

मैले निशर्त हुन्छ भनें । छिमेकी गाउँ र बलेनी एउटै भए पनि सार्वजनिक कार्यक्रममा भेटेको एउटा चर्चित र लोकप्रिय व्यक्तिसँग सँगसँगै हुन पाइने खुशी र आउँदा दिनको कल्पना गर्दै योजना अनुसार भेट भए ।

समितिका नमूना सभापति

रवीन्द्र दाइ २०७० सालको संविधानसभा निर्वाचनमा कास्कीको तत्कालीन निर्वाचन क्षेत्र नं. ३ बाट दोश्रो पटक विजयी बन्नु भएसँगै त्यसको केही समयपश्चात २०७१ साल भदौ ११ गते विकास समिति सभापतिमा निर्विरोध निर्वाचित हुनुभयो  ।

करिव चारवर्षे आफ्नो कार्यकालमा विकास समितिलाई यसरी क्रियाशील बनाउनु भयो कि अन्य समितिमा रहेका माननीय सदस्यहरु कारणवश खाली हुनासाथ विकास समितिको सदस्य बन्न आउनुहुन्थ्यो । क्रियाशील र खासै नाम नसुनिएको समिति सभापति बनिरहँदा विकास समितिलाई यसरी संचालन गर्नुभयो कि उहाँको सभापतित्वमा कुनै पनि बैठक गणपूरक संख्या नपुगेर स्थगित भएनन् ।

रवीन्द्र दाइ सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्ट्राग्राममा मज्जाले सक्रिय हुनुहन्थ्यो । ती संजाल केवल व्यक्तिगत गफ गर्न होइन सँगसँगै भोलिपल्ट विकास समितिमा छलफल गर्ने विषय र आमन्त्रित अतिथिहरुको जानकारी दिएर आम धारणा, सुझाव र सम्भावित विकल्प बारे अभिमत लिने गर्नुहुन्थ्यो ।

समितिमा आमन्त्रित अतिथिलाई सामाजिक संजालमा सोधिएका प्रश्न राखेर जवाफ दिन वा आगामी दिनमा त्यो कामको जवाफदेहिता प्रस्तुत गर्न निर्देशन दिंदै गर्दा बैठकमा उपस्थित माननीयज्यूहरुले आफ्नो टेबल ठटाएर सहमति जनाउनुहुन्थ्यो । त्यसैले हिजो एउटा सहयोगी साक्षी हुँदै गर्दाका याद आइरहेको छ, सेवाग्राही कर्मचारी र सांसदबीच संजालकै प्रयोग गरेर एउटा बलियो पुल बन्नुभएको थियो ।

सिंगो संसद होस् वा समितिहरुको बैठककै इतिहासमा विकास समितिको बैठक जहिल्यै निर्धारित समयमा संचालन हुन्थ्यो । कहिल्यै अपवाद, इन्तु, परन्तु भन्ने नै रहेन । त्यति मात्र कहाँ हो र समितिका प्रत्येक सांसदलाई विषय हेरेर समय (आफ्नो राय राख्ने समय) निर्धारित गर्नुहुन्थ्यो ।

प्रायः छोटो विषयका लागि २ मिनेट र अलिक लामो विषयका लागि ५ मिनेट हुने गर्दथ्यो । ठ्याक्कै ४ मिनेटमा जनाउ घन्टी आफैं बजाउने । र ५ मिनेटमा बजेको घन्टीमा सांसदहरु टक्क रोकिन्थे । यही भएर पत्रकार विनु सुवेदीले लेख्नुभएको ‘सभापतिको त्यो घन्टी’ शीर्षकको समाचार ती दिनहरुमा चर्चित बनेको थियो ।

समितिका निर्णय आमन्त्रित मन्त्री सचिवहरुलाई उनीहरुले गर्न सक्ने काम गर्छु भन्ने कमिटमेन्ट भएपछि मात्र त्यसै अनुसार निर्देशन दिने गर्नुहुन्थ्यो । विकास सेरोफेरो र थप विषयमा धेरै अन्तरक्रिया कार्यक्रम संचालन गरेर समितिका सांसदलाई सहभागी र सक्रिय गराइरहने ।

स्थलगत अध्ययनमा जाँदा वा विदेश भ्रमण जाँदा नदोहोर्याई समानुपातिक सहभागिता गराएर प्रत्येक सांसद पालैपालो लैजाने गरेर पनि होला सबैको रोजाइको विवादरहित सभापति बनेर आफ्नो कार्यकाल संचालन गर्नुभयो ।

रवीन्द्र दाइले विकास समितिको सभापति भएपछि सुस्त रुपमा रहेका विकास आयोजनालाई गति दिनुभयो । राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये धेरैले थप गति लिए । ती आयोजना कति पूर्ण भए भन्ने सवाल पछिल्लो जिम्मेवार निकायको निरन्तरता थियो ।

मध्यपहाडी लोकमार्गलाई द्रुतगतिमा अगाडि बढाउने कुरा होस् वा नयाँ संविधान अनुसार स्थानीय निकाय नगरपालिका, उप–महानगरपालिका र महानगरपालिका निर्माण अध्ययन गर्ने सम्बन्धमा होस् वा २०७२ को विनाशकारी भूकम्पपश्चात हल्लिरहेका समिति भवनमा विज्ञ सम्मिलित छलफल गरी राहत उद्धार र व्यवस्थापनमा खेल्नुभएको भूमिका अथवा लगत्तै भारतीय नाकाबन्दीले आक्रान्त नेपालीको पीडामा मल्हम हुने उद्देश्यका साथ उत्तरतर्फ कालीगण्डकी करिडोर, पोखरा–वेनी–जोमसोम–कोरोला नाकाको स्तरोन्नति, रसुवा नाका, किमाथाङ्का नाका त्यस्तै थप अरु नाकाको पहुँच विस्तार र संचालनमा उहाँको अग्रसरता स्वर्णिम इतिहास बनेको छ ।

Comment As:

Comment (0)