ओझेल भित्रका सचेतना अभियान
No icon

‘हाम्रो गोरेटो’ले देखाएको गोरेटो

–खोमा तरामु मगर
१. बिषय प्रवेश
नेपालमा म्यागेजिनको इतिहास करिब एक शताब्दी पुरानो रहेको छ । वि.सं. १९५५ मा ‘सुधासागर’, वि.सं. १९५९ मा ‘तरंगिणी’, वि.सं. १९९१ मा ‘शारदा’ मासिक हुदै वि.सं. १९९२ मा ‘उद्योग’ म्यागेजिनको प्रकाशन भएयता नेपालमा अहिले करिब तीन हजार संख्यामा म्यागेजिन प्रकाशन हुदै आएको छ । यो संख्या २०४६ सालको राजनीतिक परिवर्तनसंगै दुई तिहाई म्यागेजिनहरु प्रकाशित हुदै आएका छन् । यो अवधिमा नेपाली म्यागेजिन क्षेत्रले गुणात्मक र संख्यात्मक दुवै फड्को मारेको छ । 
रुप–रङ्गदेखि आकार प्रकारसम्म, अन्तर्वस्तुदेखि प्रस्तुतिसम्म, भाषा÷शैलीदेखि गुणवत्तासम्म म्यागेजिनले नेपाली समाजको विविधतालाई प्रतिविम्बित गर्दै आइरहेको छ । अझ भन्ने हो भने यसले बिद्यमान नेपाली समाजको समग्र विविधतालाई ‘आमसञ्चार’ को रुपमा समेट्न सक्ने महत्वपूर्ण माध्यम बन्दै गईरहेको कुरालाई पुष्टि गरिरहेको छ । सुधासागर प्रकाशनको इतिहासदेखि अहिले १२१ बर्षपछिको यो समय विन्दुसम्म आइपुग्दा नेपाली पत्रकारिता क्षेत्र कायापलट भएको छ । रंगीन कलेबरमा ‘ब्रोडसीट’, ‘टेब्लोइड’ र ‘म्यागेजिन’ विस्तारित हुँदै रेडियो, टिभी र ‘अनलाइन न्युजपोर्टल’ यसका साक्षी हुन् । 
रुपन्देहीमा आधा दर्जन दैनिक, साप्ताहिक पत्रपत्रिका, टेलिभिजन, झण्डै दुई दर्जन एफएम रेडियो, अनलाइन न्युजपोर्टलहरु प्रकाशन प्रसारण हुँदै आइरहेका छन् । केही साहित्यिक पत्रिकाहरु समेत प्रकाशन भइरहेका छन् । यही भीडमा ‘हाम्रो गोरेटो’ राष्ट्रिय मासिक प्रकाशन हुँदै आएको छ । म्यागेजिनले थुप्रै बिषयवस्तुलाई उठान गर्ने कोसिस गरेको छ । तर यहाँ म्यागेजिनले उठाएका केही बिषयहरुमाथि मात्र संक्षिप्त चर्चा गर्न खोजिएको छ । 


२. राष्ट्रियताको बिषय
नेपालको सन्दर्भमा राष्ट्रियताको विषय पेजिचो बन्दै आएको छ । सन् १८१६ पूर्व स्वतन्त्र, सम्प्रभु र आत्मनिर्भर राष्ट्रको रुपमा रहिआएको नेपाल व्रिटिश साम्राज्यवादका कारण १८१६ पछि अर्धउपनिवेश बन्न पुग्यो । तत्पश्चात १९४७ मा व्रिटिश साम्राज्यवादको प्रत्यक्ष उपनिवेशबाट मुक्त भएको भारतबाट पनि सन् १९५० को सन्धिदेखि अर्धउपनिवेशमा प्रवेश ग¥यो । नेपाल उपविनेवेशीकरण हुँदै भारतीय साम्राज्यवादको उदयसंगै नवउपनिवेशीकरणको प्रक्रियामा प्रवेश गरेको बहस सुरु भएको छ । अर्थात् भारतीय हस्तक्षेप उत्कर्षमा पुगेको छ । देशभक्त नेपालीहरुले राष्ट्रियताको विषयमा आन्दोलन गर्दै आएका छन् । ‘हाम्रो गोरेटो’ म्यागेजिनले पनि देशभक्त लेखकहरुलाई स्थान दिएको छ र राष्ट्रियताको बिषयमा आवाज उठाउने प्रयत्न गरेको छ । वाम बुद्धिजीवी एवं लेखक दिल साहनीले भनेका छन्, “नेपालमाथि भारतीय विस्तारवादले चौतर्फी हमला गरेको छ । कालापानीमा भारतीय सैनिक राखेर बसेको छ । चीनसित मिलेर भारतले लिपुलेकमा कब्जा जमाएको छ । एक पक्षीय रुपमा नयाँ स्तम्भ बनाएर नेपालको भुभाग भारतमा पारेको छ । सुस्ता सुस्त–सुस्त निलिरहेको छ ।” (अङ्क ६, चैत २०७५, पेज ५) साहनीले सत्तामा पुगेका वा सत्ताका नजिक रहेका नेपाली शासकहरु लेन्डुप दोर्जेको भूमिका रहेको बताएका छन् । साहनीले प्रश्न गरेका छन्, “रगत र पसिना बगाउन सक्ने युवाहरुलाई विदेश धपाएर विदेशी नागरिकलाई समेत अझ वंशजको आधारमा नागरिकता बाँडेर देशको विकास हुन्छ ? मुलुक समृद्धितिर फड्को मार्दछ ? राष्ट्रियता बच्न सक्दछ ?” (अङ्क ८, जेठ २०७६) । अरुण दर्लामी मगरले लिपुलेकको सन्दर्भ उठाउदै भनेका छन्, “चीन र भारतको व्यापारिक पारवहन सम्झौता त्रिदेशीय सीमा लिपुलेकलाई आधार बनाएर गरे । नेपाललाई घुमाईफिराई उपनिवेश बनाउने दाउ रचिदैछ । हामी नेपाली आफुलाई सार्वभौम राज्य भनी गौरव गरिरहेका छौं । यस घटनाले राष्ट्रप्रेमी नेपालीहरुको मन छिया–छिया बनाएको छ । राष्ट्रप्रति गौरव गर्ने नेपालीका लागि कदापी सह्यै हुन सक्दैन ।” (बर्ष ६, २०७५ कार्तिक) म्यागेजिनले राष्ट्रियताको सन्दर्भमा बुटवलस्थित ऐतिहासिक जितगढी किल्लाको बिषयलाई समेत प्राथमिकताका साथ उठाएको छ । 
३. जनजाति आन्दोलन र म्यागेजिनकारिता
मूलधारका नेपाली छापा माध्यमले आदिवासी जनजातिका मुद्दाहरुलाई स्थान दिदै आएका छन् । २०४६ हुँदै गणतन्त्र घोषणापछि नेपाली मिडियाको जुन प्रस्फुरण देखियो त्यसपछि आदिवासी जनजातिका मुद्दाहरुलाई म्यागेजिनहरुले प्राथमिकताका साथ उठाउदै आएका छन् । आदिवासी जनजाति पत्रकारहरुको आफ्नो प्रयत्नबाट समेत यो मुद्दालाई उठाउने कोसिस गरिएको छ । जनजाति मञ्च, कानुङ लाम, लाफा, मगरात आदि म्यागेजिन यसका प्रतिनिधि उदाहरण हुन् । यी म्यागेजिनहरुले आदिवासी जनजातिको इतिहास, भाषा, साहित्य र संस्कृतिको संरक्षण र विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैगरि कइरन, थारु संस्कृति, कोङ्पी, तमु, पारुहाङ, राज्यसत्ता, छार गोङमा, रोधी, छ्योर्तेन, छारम्हेन्दो आदि प्रकाशनहरुले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । यद्यपी यी पत्रपत्रिकाहरु अधिकांश बन्द भएका छन् । जनजाति म्यागेजिन लामो समय टिक्न नसक्नु एउटा समस्या रहेको छ । यसको प्रमुख कारण संगठित रुपमा सम्पादकीय समूह निर्माण नगर्नु, एउटा व्यक्तिको जोसबाट सुरु भई सधैंभरि निजमै निर्भर रहिरहनु हो । प्रमुख जिम्मेवारी लिएको व्यक्तिको जोस कायम रहुन्जेल पत्रिका निस्कने र जोस सेलाउँदा वा ऊ अन्यत्र व्यस्त हुन पुग्दा बन्द हुने प्रायः सबै पत्रिकाका साझा समस्या हुन् । 
४. इतिहास, भाषा र संस्कृतिको क्षेत्र
‘हाम्रो गोरेटो’ म्यागेजिनले मगर आदिकवि जितबहादुर सिंजाली मगरको जीवन र मगर आन्दोलनमा उहाँको योगदानमा आधारित बिषयहरु, मगर, थारु गुरुङ, आदि जातिको इतिहास, भाषा, संस्कृति र लिपीसंग सम्बन्धित सामग्रीहरु, मगरात पहिचानसंग सम्बन्धित बिषयहरु र आदिवासी जनजातिहरुका नयाँ प्रतिभाहरुबारे म्यागेजिनले थुप्रै सामग्रीहरु समेटेको छ । म्यागेजिनमा विष्णुकुमार सिङ्जाली मगरद्धारा लेखिएको “मगर भाषामा औपचारिक शिक्षाको अवसर र चुनौती” शीर्षकको सामग्री यहाँ उल्लेखनीय छ । लेखमा सिङ्जाली मगरले नेपालमा बोलिने भाषा र मगर भाषा, लोपोन्मुखताको आधारमा भाषाको वर्गीकरण, मातृभाषाको महत्व, मगर जातिको परम्परागत शिक्षा प्रणाली आदि बिषयलाई सुक्ष्म ढंगले उल्लेख गर्नुभएको छ । यो सामग्री निकै खोजमूलक चार अङ्कसम्म फैलिएको छ । सिङ्जाली मगरको अर्को महत्वपूर्ण लेख “मगर मातृभाषामा शिक्षाको महत्व” शीर्षकको रहेको छ । मगर मातृभाषाको अवस्थावारे उनले लेखेका छन्, “घर परिवारबाट नै बच्चाले भाषा, संस्कृति र सभ्यता सिक्दछ । त्यसैले मगर मातृभाषा बोल्ने मगर परिवारमा बच्चाले मगर भाषामा घर परिवार, समाज, वातावरण तथा विज्ञान बुझेको हुन्छ । जब बच्चा औपचारिक शिक्षाका लागी विद्यालय जान्छ तब मगर बच्चाको मनोविज्ञान पढेर पनि बुझ्न नसकेका शिक्षकहरु त्यो बच्चालाई मातृभाषाको माध्यमबाट सिकाई स्थानान्तरण गर्नुपर्नेमा दण्ड दिएर शिक्षाप्रति वितृष्णा जगाउने गर्दछन् । त्यसैको परिणाम मगर बच्चाहरु स्कूलमा भर्ना धेरै भएका हुन्छन् तर एसएलसी तथा उच्च शिक्षा उत्तीर्ण गर्नेहरु औंलामा गन्न सकिन्छ ।” (अंक ५, फागुन २०७६, पेज नं. १६) डा. मीन श्रीस मगरको भूमे पर्वको उत्पत्ति, विकास, यसको महत्व र संरक्षणवारे महत्वपूर्ण खोजमूलक सामग्री प्रकाशित भएको छ । डा. मगरको “माृतशक्ति देवी, दुर्गा र बलि पुजा” शीर्षकमा नेपालको अधिकांश पहाडी समुदायमा मातृशक्ति देवी पुज्ने परम्परावारे पौराणिक स्रोतहरुमा आधारित खोजमूलक सामग्री प्रकाशित भएको छ । डा. मगरले भनेका छन्,“स्याङ्जाको प्रसिद्ध आलमदेवीलाई मास्की राना मगर र गोर्खाली शाहहरुको कुलदेवीको रुपमा पुजिन्छ । स्थानीय लोकश्रुतिअनुसार भीमसेनपातीको बुटानेर अलप भएको राकन्याको आत्मा भीकोट गाउँकी एक मगर कन्यामा आरोपित भएपछि आलमदेवीको स्थापना र उपासना सुरु गरिएको थियो ।” (अंक १२, असोज २०७६, पेज नं. ६)
सुदीप सिंजाली मगरले “संरक्षणको अभावमा ज्यूमामोई झुमारानी” शीर्षकमा मगर जातिको अन्त्यन्तै लोपोन्मुख संस्कृति ज्यूमामोई झुमारानीवारे लेखेका छन् । यो संस्कृति गुल्मीको सत्यवती गाउँपालिका एक्सिङमा अहिले पनि जीवितै छ । जहाँका मगरहरु अहिले पनि मगर मातृभाषा बोल्ने गर्दछन् । एक्सिङका मगर समुदायले यो संस्कृतिलाई संरक्षण गर्ने प्रयत्न गरेछन् । सिंजाली मगर लेख्छन्, “यो संस्कृतिमा मगरहरुको विहेको वास्तविकता झल्काएको देखिन्छ । श्रीपञ्चमीको दिन धुमधामसंग मनाएर यो संस्कृति राती १२ बजे निकालिने चलन छ ।” (अंक ५, फागुन २०७५, पेज ३५) । थारु जनकवि बमबहादुर थारुको थारु जाति, भाषा, पहिचान र यसको लोकसंस्कृतिवारे गहन सामग्री प्रकाशित छ । जनकवि थारुले थारु जातिको इतिहास, विकासक्रम र यसको विभिन्न कालखण्डहरुबारे उल्लेख गरेका छन् । मगर र थारु जातिले परम्परागत रुपमा मनाउँदै आएको माघे सकराती पर्वको महत्ववारे पनि सामग्री प्रकाशित छ । प्रथम सहिद लखन थापा मगर र शुकदेव गुरुङको इतिहास र प्रजातान्त्रिक आन्दोलनमा उनले गरेका योगदानहरुको चर्चा पनि म्यागेजिनले गरेको छ । उदय राना मगरले नेपालमा पूर्वीय दर्शनले स्थापित गरेका सामाजिक सांस्कृतिक मूल्य मान्यताहरुको प्रभाववारे उल्लेख गरेका छन् । “बौद्ध धर्मप्रति जनजातिहरुको आस्था” शीर्षकमा बिष्णु घर्ती (भनभनेली) ले धर्म, बौद्ध धर्म र जनजातिहरुवीचको सम्बन्धवारे उल्लेख गरेका छन् । 
५. जनजाति आन्दोलनको मुद्दा
नेपालमा संघीयताको कार्यान्वयन र जातीय पहिचानको सवालवारे प्राडा. ओम गुरुङको लेख उल्लेखनीय छ । प्राडा. गुरुङले लेखेका छन्, “संविधानले उत्पीडित आदिवासी जनजाति र मधेशी समुदायलाई आत्मनिर्णय, अग्राधिकार, स्वशासन र स्वायत्तताको अधिकार दिएको छैन । यसले उत्पीडित जाति र समुदायलाई सत्ताको मालिक र सत्ता साझेदार बनाउँदैन । संविधान लागु गर्ने क्रममा नेपालका आदिवासी जनजाति लगायत अन्य उपेक्षित उत्पीडित वर्ग समुदायले प्रतिगामी ठानेको यही संविधानमा समेत व्यवस्था गरिएको स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र पनि कटौती गरिएको छ । यो संविधान प्रदत्त स्वाशासन र स्वायत्तताको अपहरण हो ।” 
मगरात आन्दोलनवारे डिबी पुन मगरले के हो मगरात आन्दोलन ? मगरातलाई किन जातीय राज्य भनिदैछ ? मगरात शासन कस्तो हुन्छ र प्रदेशको नाम किन मगरात राख्नुपर्छ ? भन्ने प्रश्नसंग सम्बन्धित लेख प्रकाशित छ । उनले लेखेका छन्, “मगरात नेपाली समाजको पहिलो राज्य र सभ्यता हो । यो कुनै जातीय राज्य होइन ।” (अंक ५, फागुन २०७५, पेज ६) उनले थप लेख्छन्, “पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम प्राचीन १८ मगरातको पुख्र्यौली भूगोल हो भने रुपन्देही, दाङ र बर्दियासम्म मगरात राज्य विस्तार गरिएको भूगोल हो । प्रदेश नं. ५ को अधिकांश खोलानाला, नदी, झरना, पहाड, पाखा, भङ्ज्याङ, चौतारी र गाउँका ठाउँका नाम मगर खाम र मगर ढट भाषामा स्थापित छ । यसले के पुष्टि गर्दछ भने यो भूमि आदिम मगरात सम्भताको थलो हो भन्ने स्पष्ट छ ।” (अंक ५, फागुन २०७५, पेज ७) । संघीयता, मानवअधिकार, गणतन्त्र, समावेशी, समानुपातिकबारे ऋषि आजाद, गणेश उँचै, सविन पुलामी मगर लगायतले विभिन्न शीर्षकमा लेख लेखेका छन् । “कम्युनिस्ट आन्दोलन र हाम्रो भूमिका” शीर्षकमा मोहनविक्रम सिंहले संघीयताको बिषय उठाउँदै नेपालमा संघीयता भारतीय विस्तारवादको प्रभावमा ल्याएको र मधेशवादी शक्तिहरुले त्यसको पक्षमा आवाज उठाएको उल्लेख गरेका छन् ।  
६. कृषि, उद्योग, पर्यटन र विविध
कृषि, उद्योग, पर्यटन, भाषा, साहित्य, संस्कृति र समसामयिक थुप्रै सामग्रीहरु म्यागेजिनले उठाउने प्रयत्न गरेको छ । २०७६ साउन ७ गते गुल्मीको ठूलो लुम्पेकमा बाढी पहिरोले ल्याएको विपत्तिको अवस्था, व्यवस्थापनमा भएको सवल पक्षवारे जीतु तरामु मगरको अनुभूतिजन्य सामग्री “बादल फाटेको रात” शीर्षकमा प्रकाशित छ । देश विदेशबाट नेपालीहरुको सहयोगसंगै बाढी पहिरोको विपत्तिले मुर्छित ल्हुम्पेकीहरुको दुःखेको घाउमा मलहम लगाउने प्रयास ग¥यो । तरामु मगरले लेखेका छन्, “संकटको बेला एकजुट हुने नेपालीहरुको परम्परा नै हो । जहाँ संकट परेको छ त्यहाँ हरेक नेपालीको सहयोगी मनको नाता जोडिन्छ । विपदमा परेकाहरुलाई मात्र होइन, सिंगो ठूलो लुम्पेकी र लिम्घेली जनतालाई ठूलो ऋण लागेको छ ।” (अङ्क १०, साउन २०७६, पेज नं. १५) । अस्लेवा रामबारीको ऐतिहासिकतावारे लोककथामा आधारित संक्षिप्त परिचय राजेन्द्रकुमार आचार्यले “पारगुल्मीतिरको किस्सा रामबारी” शीर्षकमा लोककथा लेखेका छन् । लोककथामा ढुंगा पल्टाएको प्रसंगमा “रामराम भन्दाभन्दै राम्राबारीमा गएर अडिएर त्यो बारीलाई ‘रामरामबारी’ भन्न थालियो । कालान्तरमा रामरामबारी छोटिएर ‘रामबारी’ चलन चल्तीमा आयो ।” (अङ्क १२, असोज २०७६) । लोककथामा ठूलो लुम्पेकका मुखियाराजा हरिसिङको चर्चा, हर्सिङकोटबाट ‘हचिङ्कोट’ भएको प्रसङ्ग उल्लेख गरेका छन् । पर्यटनका क्षेत्रमा रुन्देहीको गजेडी तालको बिषयलाई रिपोर्टिङको रुपमा उठाइएको छ । 
७. बिसौनी
२०७६ असार ५ गते सर्लाहीको लालबन्दीमा नेकपाका नेता कुमार पौडेलको हत्या भएको प्रसंगलाई लेखक दिल साहनीले “मुठभेडको नाममा गैरन्यायिक हत्या” शीर्षकमा घटनावारे सरकारको फाँसीवादी चरित्रको नाङ्गो रुपबारे उल्लेख गरेका छन् । लेखक साहनीले भनेका छन्, “कुमार पौडेललाई पक्राउ गरी झुठो मुठभेडको नाउँमा उनको बर्बर हत्या गरेको आभास मिल्छ । जंगली तरिकाले उनको हत्या गरेको झलक मिल्दछ । मानुभन्दा पहिला उनका हात भाँचेको दृश्य सार्वजनिक भएको छ । हात भाँचिएको व्यक्ति दोहोरो भिडन्तमा मारियो भन्न सकिन्न ।” म्यागेजिनले सम्पादकीय मार्फत नागरिक समाज, मानवअधिकार, गणतन्त्र, संघीयता, आदिवासी जनजाति आन्दोलन, बजेट, पहिचान, राष्ट्रियता, भ्रष्टाचार, समृद्धि, प्रेस स्वतन्त्रता आदि बिषयमा केन्द्रीत रहेर विचार सम्प्रेषण गरेको छ ।  
नेपाली पत्रकारिताको वृत्तमा म्यागेजिनको महत्वपूर्ण भूमिका हुँदाहँुदै पनि यो क्षेत्र स्वयं कमजोरीबाट मुक्त भने छैन । संगठित प्रयासको अभावमा प्रायः म्यागेजिन लामो समय टिक्न सक्दैनन् । लामो दुरीसम्म यात्रा गर्ने वैकल्पिक ढाँचाहरु उत्खनन् र प्रयोग भएको पाइएन । केही अपवाद वाहेक समग्र म्यागेजिनहरु निस्किएका छैनन् । अर्थात् केही म्यागेजिनहरु त भए तर त्यस्ता म्यागेजिनहरु भएनन् जो पढ्नैपर्ने, सङ्ग्रह गर्नेपर्ने होऊन् । यी बाहेक म्यागेजिनको अर्को कमजोरी परिवर्तित समय र समाजको चरित्र चित्रण गर्न नसक्नु हो । यी कमजोरीहरुबारे र समग्र म्यागेजिनहरुबारे नै विस्तृत बहस र अनुसन्धान हुनुपर्ने देखिन्छ ।
 

Comment As:

Comment (0)