ओझेल भित्रका सचेतना अभियान
No icon

बराबरीमा राेकियाे नेपाल र भारत बिचकाे मैत्रीपूर्ण खेल

नेपाल र भारतविचको मैत्रीपूर्ण फुटबलको पहिलो खेल बराबरीमा सकिएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेलेका थिए।

निर्धारित समयमा खेल १-१ को बराबरीमा सकियो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन।  नेपालको तर्फबाट ३५ औँ मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए।भारतीय गोलकिपरले आफ्नै सहयात्रीले दिएको ब्याक पास नियन्त्रणमा लिन नसक्दा अञ्जनले अगाडि बढेर बल विपक्षीको पोस्टमा छिराएका थिए। 

खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो। भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए।भारतीय खेलाडी अनिरुद्ध थापाले गोल फर्काएपछि नतिजा बराबरीमै सकियो।

नेपाली रक्षापंक्तिले जब्बर प्रदर्शन गरेपछि भारतीय टोली पहिलो हाफसम्म गोल गर्न सफल भएन। पहिलो हाफसम्म भारत मैदानको सबै पक्षमा कमजोर देखिएको छ। विपक्षी पोस्टमा नेपाली फरवार्डहरूले तीन पटक आक्रमण गर्दा भारतले एक पटक मात्र नेपालको पोस्टमा आक्रमण गर्न सकेको थियो।

खेल सकिन १० मिनेट बाँकी छँदा नेपालले अग्रता लिने राम्रो अवसर खेर फाल्यो। मनिष डाँगीको क्रसमा विशाल राईले डिबक्सभित्रबाट फितलो प्रहार गरेका थिए। दुवै खेलाडी दोस्रो हाफमा मैदान छिरेका थिए।

८३ मिनेटमा भारतले पनि अग्रता लिने मौका गुमायो। भारतका लागि मनविर सिंहले डिबक्स बल पाए पनि राम्रो पास दिन सकेनन्।

दोस्रो हाफको इन्जुरी टाइममा सब्सिच्युट खेलाडी कमल थापाले सिक्स यार्डबाट हेड गरे पनि गोलपोस्ट दिशा लिन सकेन।

नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।

दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। 

आइतबार मैत्रीपूर्ण खेलपछि नेपाली टिम साफको तयारी गर्न कतार जानेछ। कतारमा तयारी गरेपछि नेपाल उतैबाट माल्दिभ्स पुग्नेछ।

Comment As:

Comment (0)